उपत्यकाका सिडिओले भने– चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत छ

डिसी नेपाल
१७ असोज २०७८ २१:३३

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले चाडपर्व ढुक्कसँग मनाउन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज आयोजना ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तरक्रियामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओले उपत्यकाको सम्पूर्ण सुरक्षा अवस्था मजबुत रहेकोले सर्वसाधारणलाई ढुक्क भएर चाडपर्व मनाउने आग्रह गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी दिए ।

चाडपर्वको बेला सर्वसाधारण ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता आपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणले सुरक्षाको अनुभूति गर्न सक्ने उनले बताए ।

चाडपर्वको बेला आवत जावत् गर्ने यात्रुको संख्या बढ्ने हुँदा उनीहरूलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा लक्षित सहायता कक्ष (हेल्पडेस्क) को व्यवस्थासमेत गरिएको उनको भनाई छ । ‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ,’ उनले भने ।

उनले चाडपर्वको बेला आर्थिक अपराधलगायत विभिन्न आपराधिक घटना घट्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । ‘हामीले प्रहरी वृत्तहरूबाट समेत घरदैलो कार्यक्रम गरी सबै ठाउँको बस्तुस्थितको जानकारी लिइरहेका छौं, आपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गछौं,’ उनले भने ।

त्यसैगरी उनले काठमाडौंको हरेक ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी गराए । उनले उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच समन्वय गरिएको जानकारी गराए ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले ललितपुर प्रशासनले चाडबाडमा मात्र नभएर सधैँ शान्ति सुरक्षाको व्यवस्थापन गर्दै आएको बताए ।

उनले अहिले प्रत्यक्ष अनुगमन संघीय कानुनले स्थानीयतहलाई जिम्मा दिएको अवस्थामा समेत प्रशासनले स्थानीय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तीव्रता दिएको बताए ।

त्यस्तैगरी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अहिले भक्तपुर क्षेत्रमा अनुगमन कार्यलाई तीव्रता दिइएको बताइन् । उनले भाटभटेनीलाई शनिबार मात्र बढी मूल्यमा चिनी बिक्री गरेको पाइएकाले ५० हजार जरिवाना तिराएको जानकारी दिइन् ।

वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेडाइले विभागले अनुगमनको कार्यलाई वर्षभरीनै गर्दै आएकोमा चाडपर्वको बेला थप जनशक्ति व्यवस्थापन गरी अनुगमनकार्य सक्रियताका साथ अगाडी बढाएको बताए ।

कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताए । चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागु औषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालोबजारी जस्ता आपराधिक घटना घट्ने भएकाले त्यस्ता आपराधिक घटना न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको उनले बताए

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको बताए । उनले विभागले चाडपर्वको बेला हुने कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिएको र गल्ती गर्नेलाई कानुन अनुसारको कारबाही गरिएको जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *