प्रहरी हिरासत कक्ष नै असुरक्षित ! कसरी मर्छन् कैदी ?

डिसी नेपाल
३० असोज २०७८ १८:४७

काठमाडाैं ।  भैसी चोरेको आरोपमा असोज २४ गते सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय युवक धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएकै बेला हिरासत भित्र मृत्यु भयो। कैलाली लम्की चुहा–५ बाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राख्यो। राना सोमबार बिहान हिरासतको शौचालयमा मृत फेला परे। राना शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको कैलालीका प्रहरीको दावी छ।

असोज २४ मै अभद्र व्यवहार मुद्दामा पक्राउ परेका सुनसरी भोक्राहा–५ का मोहम्मद हकिम अनुसन्धानका क्रममा थुनामा भएको बेला आत्महत्या गरेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका उनको आत्महत्या पछि जिल्ला प्रहरी कार्यालय अघि उनका आफन्तहरुले नारावाजी गरे। सो घट्नापछि प्रहरी प्रधानकार्यालयले छानवीन समिति समेत गठन गर्न बाध्य भयो।

यी माथिका दुई घट्ना असोज महिनाकै हुन्। यसअघि पनि प्रहरी हिरासतमा रहेका थुनुवाहरुले आत्महत्या गरेको धेरै घट्नाहरु छन्। जस्तो २०७७ साल मंसिरमा जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले थिए। बाँके वनकटीका बाबुलाल रैदासले आत्महत्या गरेपछि त्यहाँ पनि उनका आफन्तहरुले आन्दोलन गरेका थिए। गत साउनमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एकजना थुनुवाले आत्महत्या गरेका थिए। थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको बताइएपनि उनका आफन्तहरुले पत्याएका थिएनन।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेका थिए। रविदास आफूले लगाउने गञ्जी च्यातेर पासो बनाइ भेन्टिलेटरमा झुन्डिएका अवस्थामा फेला परेको प्रहरीको दावी थियो। उल्लेखित घट्नाक्रम प्रतिनीधि मात्रै भएको राष्ट्रिय मानअधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक बताउछन्। उनका अनुसार यी घट्नाक्रममा नेपालका हिरासतहरु सुरक्षित छैनन भन्ने पुष्टि भएको छ। प्रहरी हिरासत सुरक्षित हुनुपर्नेमा थप असुरक्षित हुँदै गएकोमा उनको चिन्ता छ।

‘प्रहरीको थुनुवा कक्ष सुरक्षित हुनुपर्छ यो वा त्यो बहानमा त्यहाँको मृत्युलाई सामान्य मान्न सकिन्न’, पाठकले भने । तराईका जिल्लाहरुमा झन यसप्रकारका घट्नाहरु दोहोरिन थालेका छन्। २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेको थियो त्यसको चार दिनपछि अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भएको थियो।

यसैगरी विसं २०७७ साउन २९ मा धनगढी उपमहानगरपालिका १४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले छेउमा ब्लेड पनि फेला परेकोले ब्लेडले घाटी आफैं रेटेर आत्महत्या गरेको दाबी गरेको थियो। यसरी पटकपटक एकपछि अर्को हिरासतभित्र हुने मृत्युका घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएको भएपनि प्रहरी प्रधानकार्यालय र सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सकेका छैनन । प्रहरी हिरासतको मृत्यु सधै शंकास्पद हुने गरेको छ।

झापा बिर्तामोडस्थित इलाका प्रहरी, अनारमनीको हिरासतमा १ वैशाख ०७६ मा किरण कार्की ढोलीको शंकास्पद मृत्यु भएको घटनाले पनि प्रहरीमाथि प्रश्न उठेको थियो। मोबाइल र पैसा चोरी आरोपमा पक्राउ परेका उनी हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत्युबारे परिवारका सदस्यहरुले प्रहरीमाथि नै शंका गरी छानवीन गर्न माग गरेका थिए । तर सो विषयमा प्रहरीले सुनुवाई गरेन । हिरासतमा कति व्यक्तिको मृत्यु हुन्छ भन्ने बारेमा प्रहरीसँग कुनै तथ्यांक छैन।

प्रहरीले हिरासतमा हुने मृत्युका घट्नालाई प्रायः आत्महत्याकै राखिदिन्छ । प्रहरीकै हिरासत असुरक्षित बनेपछि प्रहरीकार्यालयप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्। उनीहरुले प्रहरीको हिरासत कक्षलाई असुरक्षित महशुस गर्नु स्वाभाविक रहेको सरोकारवालाको दावी छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर हिरासतको सुरक्षामा प्रहरी गम्भीर रहेको दाबी गर्छन् । अधिकांश घटनामा आत्महत्या देखिएकाले प्रहरीको हिरासत कक्ष थुनुवाको सुरक्षाको पाटोमा सुधारको प्रयास भइरहेको पनि उनको भनाई छ । ‘यो विषय निकै गम्भीर छ प्रहरीले हिरासत कक्षलाई सुधार गर्ने प्रयास गरिरहेको छ’, एसएसपी कुँवरले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *