मालपोत कार्यालय कटारीमा भू-सेवा केन्द्र संचालन

डिसी नेपाल
४ कार्तिक २०७८ १९:४५

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित मालपोत कार्यालय कटारीमा भू-सेवा केन्द्र संचालनमा ल्याइएको छ ।

बिहीबारदेखि कार्यालयले भू-सेवा केन्द्र संचालनमा ल्याएको हो । भू-सेवा केन्द्रको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले बिहीबार उद्घाटन गरी संचालनमा ल्याएका हुन् । मालपोल कार्यालय कटारीले सेवाग्राहीलाई सहज रूपमा निश्चित सेवा शुल्कमा सेवा दिने, लेखनदासको मनपरी नियन्त्रण हुने, मालपोत कार्यालयमा हुने भीडभाड तथा दलाली नियन्त्रण हुने विश्वास लिएको छ ।

सरकारले जग्गा प्रशासनसम्बन्धी सेवालाई समय सपेक्षा परिवर्तन गरी सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भूमि सुधाररमालपोत कार्यालयहरूमा भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (एआरआईएमएस), अभिलेख व्यवस्थापन प्रणाली (डीएमएस) तथा पब्लिक एक्सेस मोडल (पाम) प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको हो ।

‘पाम’ सेवाग्राहीले इन्टरनेटको माध्यमबाट जग्गा प्रशासनसम्बन्धी काम गर्न सकिने गरी विकास गरिएको प्रणाली भएको मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले बताउँछन् । मालपोत नियमावली, २०३६ (छैठौँ संशोधन)को नियम २३ क (२) को व्यवस्थाअनुसार पाम प्रणाली विकास गरी भू-सेवा केन्द्रको संचालन तथा व्यवस्थापन गरिएको छ ।

जग्गाधनी आफैँले वान टाइम पासवर्ड (ओटीपी)को प्रयोग गरी अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवेदन भर्न सक्नेछन् । लेखापढी व्यवसायमार्फत कारोबार गर्दा झन्झट महसुस गरिरहेका सेवाग्राहीले अब आफैँ फारम भर्न सक्नेछन् ।

मालपोत कार्यालय कटारीका कम्युटर अपरेटर सुमन कटुवालले भू-सेवा केन्द्रको अनुमति लिनेबित्तिकै बैंकहरूले आफ्नै कार्यालयबाट ऋणीको जग्गा रोक्का तथा फुकुवा गर्न सक्ने व्यवस्था रहेको बताए । उनका अनुसार यसबाट अहिले जग्गा रोक्का तथा फुकुवा गर्नका लागि सेवाग्राही र बैंकका प्रतिनिधि लेखापढी व्यवसायीकहाँ गएर निवेदन लेखी मालपोत कार्यालयमा लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।

यो सेवापछि कम्युटर, इन्टरनेट जानेको छ भने उसले सामान्य रूपमा आफैँले काम सकेर कार्यालय आउँदा हुने उनी बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरू, स्थानीय तह, लेखापढी व्यवसायी, जग्गाधनी व्यक्ति, कर्मचारी संचयकोष, नागरिक लगानी कोषलगायतले भू-सेवा केन्द्र संचालनमा ल्याएपछि मालपोत कार्यालयहरूमा हुने भीडभाड आधा घट्ने बताइएको छ ।

जग्गाधनी आफैँले ओटीपीको प्रयोग गरी अनलाइन प्रणालीको माध्यामद्वारा जग्गाको कारोबार गर्न पनि सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *