अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा नेपाली मूलका हमाल निर्वाचित

डिसी नेपाल
४ कार्तिक २०७८ २३:००

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको केन्द्रीय राजनीतिमा सहभागिता जनाउने केहीमध्ये नवनिर्वाचित केन्द्रीय सदस्य हमाल पनि एक भएका छन्।

डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले (जसलाई डेमोक्रयाट पार्टीका रजिस्टर्ड मतदाताले प्रत्यक्ष मतदान मार्फत निर्बाचित गरेका थिए)  पद त्याग गर्ने घोषणा गरेपछि उनको पद खाली भएको थियो। सो खाली भएको केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्ने विषयमा केन्द्रित रहेर पार्टीका विभिन्न तहका नेताहरुले दर्जनभन्दा वढी प्रश्न मार्फत हमालको अन्र्तवार्तासमेत लिएका थिए।

अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेको खण्डमा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो ।

मेरिल्याण्ड राज्यमा एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स(एएपीआई) को केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलवार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्।

नवनिर्वाचित हमाल हाल मेरिल्याण्ड विधानसभामा निर्वाचित सांसद ह्यारी भण्डारीसंगै डेमोक्र्याट पार्टीको केन्द्रीय समितिमा काम गर्ने छन् । अर्का एकजना नेपाली मूलका व्यक्ति पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सांसद भण्डारीले एक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्,‘हमाललाई हार्दिक वधाई ज्ञापन गर्दे आगामी दिनमा थप उपलब्धिका लागि समेत शुभकामना व्यक्त गर्न चाहन्छु ।’

मेरिल्याण्ड राज्यमा विगत १६ वषदेखि वस्दै आएका हमाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । अमेरिकी राजनीतिमा पार्टीका निर्वाचित नेतालाई समेत जनउत्तरदायी बनाउनका लागि राज्यका तर्फबाट शपथ ग्रहण गराउने र आधिकारिक प्रमाणपत्र दिने प्रचलनअनुसार उनको शपथ ग्रहण भई प्रमाणपत्रसमेत दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *