दिक्तेल-काठमाडौं सडक सञ्चालनमा

डिसी नेपाल
५ कार्तिक २०७८ १९:३०

काठमाडौं । पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक खण्डको यातायात सेवा सञ्चालनमा आएको छ ।

लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–काठमाडौँ सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर नियमित यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा झरेको पहिरो पन्छाइएपछि काठमाडौँबाट खोटाङसँगै ओखलढुङ्गा र सोलुखुम्बु आवत–जावत गर्ने सवारी साधनसमेत निर्वाधरुपमा गुड्न थालेको यातायात व्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँको सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारी साधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी देखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।

साँघुरो तथा छोटो दूरीमा घुम्ती भएका कारण वर्षा याममा बढीमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए । “पहिरो खसेको ठाउँमा ट्र्याक खोलियो तर अझै पनि जोखिम छ । वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा यात्रु तथा मालबाहक सवारी साधन सडकमै अलपत्र परेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *