यात्रुबाट तोकिएभन्दा बढी लिइएको भाडा प्रहरीले फिर्ता गरायो

डिसी नेपाल
६ कार्तिक २०७८ २१:०६

खोटाङ । खोटाङमा तोकिएभन्दा बढी भाडा असुल गर्ने सुमो व्यवसायीबाट प्रहरीले भाडा फिर्ता गराएको छ ।

हलेसीबाट काठमाडौं जानेक्रममा नौ यात्रुबाट जनही दुई हजारका दरले भाडा उठाएको ना. १ ज. ५४४५ नम्बरको सुमो चालकबाट भाडा फिर्ता गराइएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

हलेसीबाट काठमाडौैं एकतर्फी आवतजावतका लागि जनही एक हजार तीन सय भाडा निर्धारण गरिएको भए पनि सुमोको हलेसीस्थित काउण्टरबाट जनही दुई हजारका दरले भाडा उठाइएको यात्रुको गुनासो छ । आफूहरुबाट तोकिएभन्दा बढी भाडा लिएको भन्दै यात्रुले इलाका प्रहरी कार्यालय हलेसीलाई फोनमार्फत गुनासो पोखेपछि बाटोमा पर्ने प्रहरी चौकी च्यास्मीटारले सुमो रोकेर बढी भाडा फिर्ता गराएको हो । अधिक भाडा लिइएको शंका लागेपछि प्रहरीलाई खबर गरेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी यात्रु सरीता राईले बताइन् ।

तोकिएभन्दा सात सय बढी भाडा लिएका काउण्टरले यात्रुलाई टिकट उपलब्ध नगराएको जनाइएको छ । सहमतिमै भाडा लेनदेन भएको काउण्टरका कर्मचारीको प्रतिक्रिया छ । दशैं तिहारका बेला आवतजावत गर्ने यात्रुबाट बढी भाडा लिइएको विषयमा चेकजाँचका लागि सडक आसपासका प्रहरी चौकीलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर शाहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *