कांग्रेस महाधिवेशन फेरि प्रभावित हुने आशंका, पार्टीकाे वैधानिकता ‘खतरा’ मा

सम्भव सिंह ठकुरी
८ कार्तिक २०७८ १२:३५

काठमाडौं। आफूलाई नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दलको दावी गर्ने नेपाली कांग्रेसको १४ औँ महाभिवेशन थप अनिश्चित बनेको छ। १४ औँ महाधिवेशन गर्नको लागि पटकपटक गरी पाँच पटक कार्यतालिका हेरफेर भइसकेको कांग्रेसको फेरि पनि घोषित कार्यतालिका प्रभावित हुने शंका बढेको छ।

शनिबार कैलालीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेको दावी गरेका छन्।

पौडेलले पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने अवस्था रहेको र त्यो समय पनि पूरा भइसकेकाले विधान अनुसार कांग्रेस नेतृत्व अवैध भइसकेको टिप्पणी गरेका छन्।

संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र नयाँ नेतृत्व चयन नगरे अवैध हुने व्यवस्था गरेको पौडेलको दावी छ। राजनीतिक दल सम्बन्धी धारा २६९ को उपधारा ४ (ख) को व्यवस्था अनुसार ६ महिना समयको सुविधा थप गरेर भदौ १८ केही जिल्लाहरुको वडा अधिवेशन सम्पन्न गरेर संकट त टरेको छ। तर अझै पनि रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छैन भने १३ जिल्लाहरुको वडा अधिवेशन समेत सुरु हुन सकेको छैन।

यसरी अधिवेशन आउन एक महिनामात्र रहँदा फेरि अधिवेशनको कार्यतालिका प्रभावित हुने त हैन? प्रसस्त शंकाहरु उत्पन्न भएको छ। नेता धनराज गुरुङ पनि अहिलेको यो अवस्थाले शंकाको सुविधा उत्पन्न भएको बताउँछन्।

तर तोकिएको समय मै महाधिवेशन गर्नुको विकल्प नरहेको उनले भनाइ छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए जस्तो पार्टी वैध–अवैध भन्दापनि सिंगो कांग्रेस केन्द्रीय समिति र शिर्ष नेतृत्वले महाधिवेशनको सहजताको बाटो खोज्नु पर्ने उनको तर्क रहेको छ।

‘पार्टीमा यो खाले समस्या उत्पन्न हुनुमा सभापति पछि वरिष्ठ नेताको पनि जिम्मेवार हुन्छ। त्यसकारण उहाँले बाहिर भन्दापनि यो कुरा पार्टी भित्र नै राख्नुपर्छ,’उनले भने, ‘कतिपय निर्णयहरु केन्द्रीय समितिको बैठक पनि नराखी शिर्ष नेतृत्वबाट निर्णय लिने भएकाले अब केन्द्रीय समितिबाट निर्णय गराएर अब कुनैपनि बहानामा महाधिवेशन सार्नु हुँदैन र हाम्रो सुझाव पनि यही रहन्छ।’

गुरुङले अगाडि भने, ‘अव शिर्ष नेतृत्वबाट यो या त्यो बहानामा अकर्मन्यता प्रदर्शन गर्नु हुँदैन । मंसिरमा पनि अधिवेशन सम्पन्न हुन सकेन भने पार्टीको लागि ठूलो दुर्भाग्य हुनेछ। हाम्रो जोड पनि तोकिएको समयमा नै अधिवेशन सम्पन्न गराएर सफल सभापति साबित गराउने नै हो।’

नेता रमेश लेखक पनि अधिवेशनको कार्यतालिका प्रभावित हुने कुरामा शंका ब्यक्त गर्छन्। ‘केही जिल्लाहरुको त क्रियाशील सदस्यता नै सार्वजानिक हुन सकेको छैन। यो विषयमा छलफल र छानबिन भइराखेको छ। तर सार्वजानिक भएको जिल्लाहरुमा पनि निर्वाचन समितिले वडा अधिवेशन समेत सम्पन्न गर्न नसकेकोले कार्यतालिका प्रभावित हुने कुरामा मलाई पनि शंका लागेको छ,’उनले भने।

स्थानीय निकायको निर्वाचन पश्चात मात्र अधिवेशन गर्ने भित्री तयारी भएको छ भन्ने कुराहरु पनि सार्वजानिक भएको छ नि ? भन्ने डिसी नेपालको प्रश्नमा तोकिएको समयबाट महाधिवेशनको कार्यतालिका संशोधन हुने विषमा पार्टी भित्र कुनैपनि बहस र छलफल नभएकोले हल्ला र अनुमानको पछि नलाग्न आग्रह गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *