महानगरको तिहार लक्षित बजार अनुगमन, केहीलाई कारवाही केहीलाई मौका

डिसी नेपाल
११ कार्तिक २०७८ ८:०५
56
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै बजार अनुगमनलाई तीब्र बनाएको छ। महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवानासमेत गराएको जानकारी दिएको छ।

बजार अनुगमनकै क्रममा केहीलाई सुधार गर्ने समय दिइएको छ भने बुधबार बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

रामेश्वर मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो। टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो। सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए। तर कराई चुलामा तातिरहेको अवस्थामा थियो। मिठाइ बनाउन प्रयोग गरिने रङ् र मसलाको म्याद सकिएको थियो। फ्रिजमा राखिएका करीव १ दर्जन बोतल कोल्ड ड्रिङ्सको म्याद सकिएको महानगरपालिकाले जनाएको छ।

मंगलबार कारवाही गरिएको ताज वेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेन। बेकरीको डिफ्रिजमा म्याद सकिएका कुल्फी र आइसक्रिम थिए। त्यहाँबाट ६९ वटा आइसक्रिम र १ प्याकेट कुल्फी जफत गरिएको महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ।

‘मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ।’ निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने, ‘व्यापारीहरुले मिठाइजन्य खाद्य उत्पादनमा व्यवसायिक धर्मको पालना गर्नु पर्ने, सामाजिक दायित्व निर्वाह पर्ने देखिएको छ । कारवाही त समस्याको समाधान होइन तर अनुचित काम गर्नेलाई छोड्न सकिँदैन।’

तिहारमा धेरै मिठाइ खपत हुने भएकोले म्याद गुज्रिएका सामानको प्रयोग भएको विगत बर्षहरुको अभ्यास देखाउँछ। यो बर्ष पनि यस्तै देखिएको उनको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाका अनुसार यो समयमा म्याद सकिएका सामानहरु मिसाएर प्रयोग गर्ने खतरा छ । म्याद सकिन लागेका सामान अफर र सस्तो मूल्यमा विक्री गर्ने गरेको पाइन्छ।

मिठाइ पसलमा देखिएको अवस्था उपभोक्ताको स्वास्थ्यका कोणबाट जोखिमपूर्ण देखिन्छ। म्याद गुज्रिएका सामान विक्री गर्नु उचित मूल्यमा उचित सामान प्राप्त गर्न पाउने उपभोक्ताको अधिकारमाथि सरासर खेलबाड भएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘सरकारले यसबेला आफूलाई सशक्त बनाउन सकेन भने अखाद्य बस्तु प्रयोग गरेका कारण भोलि ठूलो स्वास्थ्य संकट आउन सक्छ । मूल्य तिरेर जोखिम किन्नु नपरोस् भन्ने कुरामा सबै एक ठाउँ हुनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.