एमाले अधिवेशन: वडादेखि पालिकासम्म नेतृत्वमा महिला शून्य
ओखलढुंगा। एमालेको स्थानीय कमिटीको निर्वाचनअन्तर्गत पालिका अधिवेशन सकिएको छ। ओखलढुंगाका आठ पालिकामध्ये सातमा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो।
सहमतिमै सिद्धिचरण, चिशंखुगढी, मोलुङ, खिजीदेम्वा, लिखु, चम्पादेवी र मानेभञ्ज्याङमा पालिका कमिटीमा नेतृत्व चयन भएको छ। सुनकोसी गाउँपालिकामा भने अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो।
अध्यक्षमा पञ्चबहादुर तामाङ र हितराज कार्कीबीच निर्वाचन भएको उपसचिव निशान श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई जनाको दाबी परेपछि निर्वाचन गरिएको र निर्वाचनमा पालिकाका १० वटा वडा कमिटीका अध्यक्षहरूलाई मात्रै मतदान गर्न लगाइएको थियो। तामाङले १० मा ६ मत पाए।
सचिवमा गिर्वराज थापा मगरले सात मत पाएर सचिव निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी झनक कार्की, अमृत वस्नेतलगायत थिए। एक जनाले मतदान नगरेको र दुई मत मात्रै आफ्नो विपक्षमा गएको निर्वाचित सचिव गिर्वराज थापा मगरले टेलिफोनमा बताए।
एमालेको विधानमा भने वडाबाट छनाेट भएका पालिका प्रतिनिधिले मतदान गरेर पदाधिकारी र सदस्य छान्ने व्यवस्था छ। विधान मिचेर गरिएको निर्वाचनका माध्यमबाट अध्यक्ष चयन गरिएको भन्दै असन्तुष्टि बढेको छ।
पालिका तहसम्म महिला नेतृत्व शून्य
एमाले अधिवेशनले वडादेखि पालिकासम्मका अध्यक्षमा महिला नेतृत्व छान्न सकेन। पालिका प्रतिनिधि छनाेटमै महिलाको संख्या अति न्यून थियो। पदाधिकारीहरूमा महिला अनिवार्य भनिएकाले उपाध्यक्ष वा उपसचिवमा भने महिला राखिएको छ।
अध्यक्ष र सचिवमा महिला छैनन्। महिलालाई नेतृत्वमा स्थापित गर्न वडाबाटै एमाले चुकेको छ। ओखलढुंगाका अधिवेशन सकिएका ७५ मध्ये ६६ वडामा पुरुष मात्रै अध्यक्ष भएका छन्। बाँकी तहमा अधिवेशन भएको छैन। त्यस्तै पालिकाका आठै स्थानीय तहका कार्यकारी पदमा महिला छैनन्। महिलालाई कार्यकारी पदमा नल्याउनु दुखद भएको महिला नेतृहरूको गुनासो छ।







डिसी नेपाल








Facebook Comment