दिनभरका आठ मुख्य खबरः सर्वोच्चमा अलमल, राजनीतिमा गनथन

डिसी नेपाल
१२ कार्तिक २०७८ २०:१०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आन्दोलन घोषणा गर्न नेपाल बार एसोसिएसनको बैठक बसेर सुरु भएको शुक्रबारको दैनिकी नेपाल बारको बैठकले प्रधानन्यायाधीशको बेञ्च बहिष्कार गर्नेमा आएर टुंगिएको छ ।

यसबीचमा राजनीतिलाई तरंगित गर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको तीनवटै तहका निर्वाचन एकै पटक गर्ने प्रस्तावदेखि नेकपा एमालेले महाधिवेशनमा प्रतिनिधिको संख्या बढाउनेसम्मका राजनीतिक घटनाक्रममा केन्द्रित भए ।

यस्ता छन् दिनभरका मुख्य खबर:

नेपाल बार लचक

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन घोषणा गर्न भन्दै बसेको नेपाल बार एसोसिएसनको बैठक अन्ततः कानुन व्यवसायीलाई इजलासमा फर्कन आह्वान गर्दै सकियो ।

आन्दोलनका कारण मुद्दा सुनुवाइ प्रभावित भएपछि बारले प्रधानन्यायाधीशको बेञ्च बहिष्कार गरेर अन्य मुद्दामा बहस गर्न जाने निर्णय गर्‍यो । तिहारसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक चलिरहेका बेला प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका पक्ष र विपक्षमा खडा भएका दुई वकिलले बार परिसरमै लात्तीमुंग्री खेलेर रमिता पनि देखाउन भ्याए ।

प्रधानमन्त्री देउवा गए बेलायत

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६)मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

४८ दिनमा संसद सकियो

सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातिदेखि संघीय संसदको चालू अधिवेशन अन्त्य गरेकी छन् । ४८ दिन चलेको संसदमा एमालेले निरन्तर अवरोध गरिरह्यो । अवरोधका बीच बजेट प्रतिस्थापन विधेयक पािरत भएर केही प्रतिवेदन पेस हुनुबाहेक संसदले प्रभावकारी काम गर्न पाएन ।

डेढ वर्षपछि खुल्यो भद्रपुर नाका

सरकारले सबै नाका खोल्ने निर्णय गरेको एक महिनापछि मात्र झापाका दुई ठूला नाका सहज भएका छन् । पूर्वी नाका काकँडभिट्टा र भद्रपुर नाकामा केही सहज भएको हो । पूर्वी नाका काँकडभिट्टामा विगतदेखि नै मान्छेको आवतजावत हुँदै आएको भए पनि नाका सहज थिएन । सरकारले गत असोज पहिलो साता देशभरका नाका साविककै अवस्थामा ल्याउने निर्णय गरेको थियो ।

विगतमा पूर्वीनाका काँकडभिट्टामा आवश्यक प्रक्रिया पूरा गरेपछि भारतीय निजी सवारी सहजै नेपाल आउन पाउँथे । तर, कोरोना महामारीले नाका बन्द भएपछि सवारी प्रवेशमा रोक लगाइएको थियो ।

टुनामुना गरेको भन्दै छिमेकीले नै खुवाए मलमुत्र

महोत्तरीको औरही नगरपालिका ९ अग्लेसराका भकती ठाकुर गत बिहीबार खाना खानै लाग्दा छिमेकी रामकिला देवीले चर्को स्वरमा बाहिर बोलाइन् । ‘के भएछ ?’भन्दै ठाकुर निस्किएका मात्र थिए, रामकिला देवीसँगै आएका उनका छोरा रामउदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासि आक्रमण गर्न थाले । कसैले लाठी बर्साउन थाले, कसैले मुक्का प्रहार गरे । उनीहरू सबै मिलेर भकतीलाई टुनामुना गरेको भन्दै गिलासमा ल्याएको मलमुत्र जबर्जस्ती खुवाए ।

लिम्पियाधुरामा जनगणनाको माग गर्दै जनगणना कार्यालयमा ताला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरूमा समेत जनगणना गर्नुपर्ने माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

छियाछिया मोटर मार्ग, यात्रुलाई सास्ती

गएको असार-साउनमा वर्षासँगै आएको बाढी-पहिरोले ढोरवाराही मोटर मार्गको सडक छियाछिया बनाएको छ ।

दुलेगौँडादेखि साँखेसम्मको ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको सडक समयमा मर्मत सम्भार नहुँदा कष्टकर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु ।

तनहुँलाई स्याङ्जाको ग्रामीण भेगसँग जोड्ने प्रमुख सडक हो यो । दुलेगौँडा बजारदेखि स्याङ्जाको हरिनास गाउँपालिका, बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका ग्रामीण भेगमा यही मोटर मार्ग भएर सवारी साधन आउजाउ गर्छन् ।

शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राईपुर र फिरफिरेका गाउँगाउँका सर्वसाधारणले सवारी यात्रा गर्ने सडक हो यो ।
गाउँगाउँ पुग्ने प्रमुख सडकको दुलेगौँडा बजारबाट नजिकै पुल्चोकदेखि सुरु भएको पहिरो गाउँगाउँसम्म छ । साँघुरो सडक, त्यसमाथि पहिरोले ठाउँठाउँमा भत्किँदा कालोपत्रे सडकमा पनि कष्टपूर्ण यात्रा गर्नुपरेको यात्रुहरूको गुनासो छ ।

बाढी(पहिरोले सडक भत्किएको मात्र छैन, कतै नाला पुरिएका छन् । खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुँदा सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापेजस्तै खाल्डाखुल्डी छन् ।

१०औँ महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने

नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले २७ कात्तिकमा एकै दिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले एक हजार ९९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ । उसले महाधिवेशन प्रतिनिधिको संख्यासमेत बढाएको छ ।

तीन तहकै चुनाव एकै पटक: माधव नेपाल

पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्नुपर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला’, उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नि ? हामी सल्लाह गर्छौं, मिल्छ भने त्यही बाटोमा किन नजाने ?’

उनले तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *