पहिरोले २२ जनाले ज्यान गुमाएको मिक्लाजुङमा प्रधानमन्त्री मात्रै पुगे राहत पुगेन

डिसी नेपाल
१६ कार्तिक २०७८ १२:४१

पाँचथर। मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका पदमशेर लावतीलाई पालाम (धान नाच्दा गाइने दोहोरी) को एउटा पङ्ती अहिले खुबै याद आउँछ। ३ कात्तिकमा गएको पहिरोमा परी छोरा विष्णुबहादुरलाई गुमाएपछि लावतीको मन थिर मै छैन। उनी सम्झिन्छन्– ‘पच्चिस सालको पैरो, निङ्बा मैरो।’

अर्थात २०२५ सालमा गएको पहिरोले मन उडायो, विरक्त लगायो। दुई पक्षले सवाल–जवाफमा गाइने पालाममा २०२५ सालमा बेमौसमी वर्षाका कारण गएको पहिरोले गरेका क्षतिका विषयहरू समेटिएका छन्। लावतीका अनुसार पालाममा उक्त पहिरोले मन मात्रै उडाएको उल्लेख थियो । तर यसपालिको पहिरोले भने जीवनको सहारा नै लग्यो।

बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको छ । १ देखि ३ कात्तिकसम्म निरन्तर परेको वर्षाले यहाँका सयौं स्थानमा पहिरो झरेको छ । यत्रतत्र पहिरो झर्नुका साथै खोला तथा खोल्सीहरूमा बाढी आएको छ। जसले ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । पहिरोका कारण मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ र ७ को स्वरुप नै फेरिएको छ ।

खेतीयोग्य जमीनहरू बगर बनेका छन्। सयौं घरमा क्षति पुगेको छ। भूकम्पले जस्तै पहिरोले जमीन थङ्थिलो हुँदा स्थानीयबासी अब कहाँ जाने भन्ने चिन्तामा डुबेका छन् । बाँकी ६ वटा वडामा पनि पहिराले क्षति पुर्याएको छ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरोबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन। यहाँका हजारौं घर, गोठमा पूर्ण वा आंशिक क्षति पुगेको छ । स्थानीयबासीका खेतबारीमा लगाएको बाली त नष्ट भयो नै, ती ठाउँ भविष्यमा खेती लगाउन समेत नमिल्ने भएको छ।

सडक, खानेपानी, विद्युत, सिंचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाहरूले तयार पार्न सकेका छन्। ‘सबै ठाउँमा ठूलो क्षति पुगेको छ। बाटाहरू बन्द छन्, विद्युत अवरुद्ध छ,’ गाउँपालिका अध्यक्ष माखिमले भने, ‘के–कति क्षति भयो भन्ने लगत सङ्कलन गर्न वडाहरूलाई भनेका छौँ। तर उहाँहरुले समेत तत्कालै पूर्ण विवरण तयार पार्न सक्ने अवस्था छैन् ।’

पहिरोले मिक्लाजुङ गाउँपालिकाभित्रका अधिकांश सडक क्षतविक्षत बनाएको छ । राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरो झर्दा सडक खुलाउन हप्तौं लाग्ने अवस्था छ । विद्युतका पोल तथा तारहरू खोलामा पुगेका छन् । कतिपय सिंचाइ कुलोहरूको नाम निसान नै मेटिएको छ ।

मिक्लाजुङमा मात्रै २२ जनाले ज्यान गुमाए

बाढी र पहिरोका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु भएको थियो, तीनजना अझैसम्म फेला परेका छैनन् । बाढी र पहिराले विस्थापित सयौं स्थानीयबासी छिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन् ।

घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार जोखिमयुक्त बनेकाहरू अन्योलमा दिन काटिरहेका छन् । स्थानीय क्लबको सहयोगमा बसिरहेका मिक्लाजुङ–७ लेखगाउँका रविन राई भन्छन्, ‘अहिलेसम्म गाउँपालिका अध्यक्ष बाहेक कोही पनि हामीलाई भेट्न आउनुभएको छैन् । खोई कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?’

मिक्लाजुङ–५ का भकेन्द्र लावतीका अनुसार पहिरोका कारण गाउँको संरचनामै परिवर्तन आएको छ । भूकम्पले जस्तंै खेतबारी क्षतविक्षत बनेको र पुनः खेती लगाउन सकिने अवस्था नरहेको लावतीको भनाइ छ । ‘हाम्रो वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो,’ लावतीले भने, ‘वर्षा भएमा जोखिम उत्तिकै छ ।’

आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनुको विकल्प नभएको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाइ छ। ‘डर त लाग्छ । यहाँ पहिले पनि पहिरो आएको थियो रे । तर अन्यत्र जानसक्ने अवस्था छैन्’, ठटालले भनिन् ।

प्रधानमन्त्रीको आश्वासन पूरा भएन

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखी छन् । ‘विद्युत, बाटो, खानेपानी सबै अवरुद्ध छ । धेरै संरचना पुनःनिर्माण अत्यावाश्यक भए पनि ठोस सहयोग पाउन सकेका छैनौं’, अध्यक्ष माखिमले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत ७ कात्तिकमा यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिएका थिए । तर दुई सातासम्म सरकारी उपस्थितिविना जीवन गुजार्नुपर्दा पीडितहरु निराश छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *