अमेरिकाको टोलेडो–ओहायोमा दशैं–तिहार कार्यक्रम

डिसी नेपाल
१७ कार्तिक २०७८ ८:३९

टोलेडो, ओहायो। अमेरिकाको ओहायो राज्यको उत्तर–पश्चिमी शहर टोलेडो–ओहायोमा त्यहाँ भएका नेपालीहरु बीच अक्टुवर ३१ को साँझ दशैं–तिहार, नयाँ नेपाल संवत, तथा छठ पर्व २०७८ को अवसर पारेर भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ।

टोलेडो विश्वविद्यालमा बिभिन्न तहमा अध्ययनरत नेपाली विद्यार्थीहरुको बसोबास रहेको त्यस क्षेत्रमा बिद्यार्थीहरु तथा नेपाली समुदायसँग सम्पर्कमा रहेका केही स्थानीयहरु, विश्वविद्यालयका प्रतिनिधिलगायत करिब ९० जना उक्त अवसरमा उपस्थित थिए।

नेपाली विद्यार्थीहरुद्वारा सन २००९ मा स्थापित नेप्लिद स्टुडेन्ट अर्गनाइजेशन एट युनिभर्सिटी अफ टोलेडोद्वारा आयोजित उक्त कार्यक्रम गतवर्ष कोरोनाको कारण रोकिएकोबाहेक हरेक वर्ष उत्साहजनक रुपमा विश्वविद्यालयको हलमा संचालन हुने गरेको सो संगठनका संस्थापक सचिव तथा सल्लाहकार डा. लीलाराज दाहालले जानकारी दिए।

टोलेडो विश्वविद्यालयमा बिद्यावारिधीको अध्ययन सकिएपछि त्यहीं एउटा शिसा कम्पनीमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत रहेकोले सन २००६ देखि नैं त्यही क्षेत्रमा बसोबास गर्दै आएका डा.दाहाल रक्तदानलाई प्रवर्धन गर्ने उद्देश्यले स्थापित र अमेरिकाभरि गतिबिधि गर्दै आएको संस्था ब्लड डोनर्स अफ अमेरिका(बिडिए) नामक संस्थाका अध्यक्ष समेत हुन्।

कार्यक्रममा खानपिन, गीत–संगीत, नाचगान लगायत बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरु समावेश गरिएका थिए। साथै उक्त दिन हलोवीन पर्व समेत परेकोले केटाकेटीहरुलाई चकलेट पत्ता लगाउने खेल खेलाएर रमाइलो गरिएको थियो । त्यसका अतिरिक्त महिलाहरुको लागि म्युजिकल चेयर तथा सबै सहभागीहरुको लागि बिङ्गो खेल पनि खेलाइएको थियो । अन्त्यमा देउसी–भैलो खेलेर सो संगठनको लागि केही पैसासमेत संकलन गरिएको थियो।

पारिवारिक वातावरणमा हुने यस्ता कार्यक्रमले आफ्नो घर–परिवारबाट टाढा बस्दा परिवार तथा चाडपर्वको न्यास्रो मेटिने तथा काम गर्न थप उर्जा मिल्ने सो विद्यार्थी संगठनका अध्यक्ष अबिरल पौडेल र सल्लाहकार तथा सन २०१३ देखि त्यहीं बसोबास गर्दै आएका गोविन्द ढकाललगायतले बताए।

साथै कोरोनाको कहर सुरु भए यता आफ्नो समुदायमा यसरी भव्यरुपमा कार्यक्रम संचालन गरिंदा कोरोना पूर्वको अवस्थामा पुगेको आभाष भएको भन्दै धेरैजसो सहभागीहरु उत्साहित देखिन्थे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *