कुकुर तिहार सन्दर्भ : शान्ति सेनामा सैनिक डगको सहभागिता

डिसी नेपाल
१७ कार्तिक २०७८ १२:१२
112
Shares

काठमाडौं। नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ। कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुर प्रयोग गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरीयामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा सान र गामिनी नामक दुई कुकुर समावेस गरेको थियो।
लाइबेरीया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिएको छ। लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो।

नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्‍याउँदै आएका छन्। त्यहाँ खासगरी हातहतियार र विष्फोटक पदार्थ बरामद, खोजी तथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षा अर्थात् सरक्षा गार्डमा कुकुर समावेश गरिएको छ।

पछिल्लो पटक लिबियामा गत १४ असोजबाट किलो नामक कुकुर पठाइएको छ भने लिबियाबाट फिर्ता भएको माइकल नामक कुकुरलाई सेनाले भैरव वाहन गुल्ममा राखिएको छ।

सरकारले २०५५ सालमा सेनामा तालिम प्राप्त सैनिक डग राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ सालदेखि तालिम दिई सञ्चालन गरिएको गठ्ठाघरस्थित भैरव बहान गुल्मको डग केनलमा हाल जर्मन सेफेर्ड २३, लेब्राडोर ५५, ककर स्पाइनल सात, गोल्डेन रिट्रिभर दुई, मालिनोइज एक बच्चा कुकुर छन्।

एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैयाँ खर्च लाग्ने बताइएको छ। शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडाले ८९० दशमलव ०४ र खोज तथा उद्धारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५दशमलव ७२ अमेरिकी डलर भत्ता प्राप्त हन्छ।

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ। सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षको उमेरसम्म पूर्ण रूपमा काम गर्दछ।

यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर २ र चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण मालिनोइज र लेबाडोर दुई जातका कुकुर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.