नेपाली फिल्ममा तिहार

डिसी नेपाल
१९ कार्तिक २०७८ ११:३३
112
Shares

काठमाडौं। दीपावली हाम्रो घरआँगनमा आइसकेको छ। हर्षोल्लासका साथ मनाइने यसपर्वलाई झिलिमिली तथा बत्तीको पर्वको रुपमा पनि लिइन्छ। उज्यालो पर्व दीपावलीको प्रसँगलाई फिल्ममा उल्लासकै रुपमा प्रस्तुत गरिन्छ। यद्दपी केहिमा दिदीबहिनीको गुनासो वा तिहारकै बेला आइपर्ने संकटलाई पनि समेटिएको छ।

दिदीभाइ, भाइटिका, दिदी, प्यारी बहिनी, मामाघर, निखिल दाइ, लक्ष्मीपूजा लगायतका फिल्महरुको शिर्षकबाटै दाजु बहिनी वा दिदीभाइ बीचको सम्बन्धसँगै महत्व बुझ्न सकिन्छ। दाजु बहिनी वा दिदी भाईबीचको सम्बन्धले नेपाली फिल्ममा ठूलै महत्व राख्दै आएको पाइन्छ।

तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म अन्यायुमा लक्ष्मीपूजाको प्रसँगलाई समेटिएको छ। फिल्मका कलाकारहरु विश्व बस्नेत र मीरा माधुरीद्धारा लक्ष्मीपूजा गरेर बत्ती बालेर गीत गाउने र नृत्य गर्ने दृश्य देखाइएको छ। अधरमा आज उनकै छ बोलको गीत तिहारमा निकै रुचाइने गरिन्छ।

यो फिल्मको गीतमा तिहारलाई राम्रोसँग चित्रण गरिएको छ । तिहारमा धेरै सुनिने गीत तिहारै आयो लै झिलिमिली मा अभिनेत्री गौरी मल्लको नृत्य देख्न सकिन्छ। शम्भू प्रधान निर्देशित फिल्म स्वर्गमा समावेश यो गीत पर्दामा देखिएको तिहारको एउटा स्मरणीय दृश्यको रुपमा लिन सकिन्छ । फिल्ममा गौरी मल्लले अर्जुन श्रेष्ठको दिदीको भुमिका निर्वाह गरेकी छिन्।

कृष्टि मैनालीको दोहोरो भूमिका रहेको फिल्म लक्ष्मीपूजा पनि तिहारसँग जोडिएको महत्वपूर्ण फिल्म हो । यसमा लक्ष्मीपूजाकै दिन जन्मिएकी दुई दिदी बहिनीका रुपमा अभिनेत्री मैनालीले दोहोरो भुमिकालाई निर्वाह गरेकी छिन्। निर्देशक तुलसी घिमिरेकै सफल फिल्म चिनोमा तिहारको प्रसँगलाई मार्मिक रुपमा चित्रण गरिएको छ।

यसै फिल्म मार्फत रातेकाइँलाको उपनाम पाएका सुनिल थापाले अभिनेता शिव श्रेष्ठको परिवारमा हमला गर्ने दृश्य राखिएको छ। उक्त दृश्यमा शिवका पिता बनेका केशव भट्टराईको हत्या हुन्छ । त्यहाँबाट ज्यान जोगाउन भाग्दा उक्त परिवारका सदस्यहरु छुट्टिन पुग्छन्।

फिल्म विजय पराजयको निधारमा लर्काएर सप्तरंगी टिको गीत तिहारमा बज्ने गीतमध्ये एक हो । यस गीतको भिडियोमा भाईटिकाको विधि र महत्वबारे समेत वर्णन गरिएको छ । फिल्ममा बहिनी बनेकी रुपा राना र उनका दाईहरु भुवन केसी र कृष्ण मल्ल बनेका छन्। प्रहरी अधिकृत बनेका कृष्ण र अपराधी बनेका भुवन भाइटिकाको दिन बहिनीको हातबाट टिका थाप्न आउने प्रसङ्गलाई फिल्ममा प्रस्तुत गरिएको छ।

यस्तै प्रसँग अमर रसाइली निर्देशित फिल्म धर्म समेटिएको छ । अपराधी सरोज खनाल र प्रहरी निरीक्षक दिदीको रुपमा कृष्टि मैनालीले अभिनय गरेको फिल्ममा दुवैले टिका लगाउने प्रसँगले भावुक पनि बनाउछ ।

यस्तै , कृष्ण चापागाई निर्देशित फिल्म निखिल दाईमा रेखा थापा अभिनेता निखिल उप्रेतीको बहिनीको भुमिकामा प्रस्तुत भएकी छिन्। यसमा बहिनी रेखामाथि संकट आइपर्दा दाजु निखिलले उद्धार गरेको कथा भन्छ । यसमा रेखाले निखिललाई भाइटिका लगाईदिएको दृश्यले दर्शकलाई भावुक बनाउँछ ।

नेपाली फिल्म दिदीमा मिथिला शर्माले शिर्ष भूमिका निर्वाह गरेकी छिन्। अभिनेत्री शर्माले दिदी आफ्ना भाई बहिनीहरुको पालन पोषणमा जीन्दगी नै समर्पण गरेकी ममतामय दिदीको भुमिका निर्वाह गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *