प्रधानन्यायाधीशविरुद्ध बार एसोसिएसन दोस्रो चरणको आन्दोलनमा

डिसी नेपाल
२२ कार्तिक २०७८ ७:०६
72
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ।

बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ। इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ। २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वाेच्च बारको सुझाव छ।

यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम सम्पन्न भएका छन्।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन्।

एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.