निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

डिसी नेपाल
२३ कार्तिक २०७८ ७:३९

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा प्रहरीले अनुसन्धान नगरेको भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पैदलै हिडेर काठमाडाैं पुगेको थियो।

निर्मलाको अपहरण गरी सम्पत्ति हडपेर हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ६ जनामाथि सात दिनको म्याद थप गरिएको उनले बताए।

सोही प्रकरणमा आरोपित कुँवर बब्बन सिंह ८० वर्षे भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ। सो घटनामा मुछिएका अभियुक्तमध्ये संविधानसभा सदस्य बादशाह कुर्मी आफै गत भदौमा जिल्ला प्रहरी कार्यालयमा आएकोले उनलाई हाजिरी जमानतमा छाडिएको थियो। उनी नेपाली कांग्रेसका नेतासमेत हुन्।

बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ। बाँकेकी कुर्मी र धोबी घटनामा छानबिन समितिले सरकार समक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो।

परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *