छठ पर्वका लागि सिंगारिए भैरहवाका पोखरी

डिसी नेपाल
२३ कार्तिक २०७८ १४:०५

बुटवल। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन्। छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो।

पोखरीमा सरसफाई तथा रंगरोगन गरी आकर्षक बनाइएको छ। राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठ पर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताए।

परिवारमा सुख, शान्ति प्राप्त हुने विश्वासका साथ तराई क्षेत्रमा छठ पर्व विशेष रुपमा मनाउने गरिन्छ। अहिले यो पर्व क्रमशः महाडी क्षेत्रमा बसोबास गर्ने गैरमधेशी समुदायले पनि मनाउँन थालेका छन्।

मन्दिर सेवा समितिले पूजाका लागि दुई वटा पोखरी सरसफाई र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ। बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिने रौनियारले बताए । पाँच वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको छ।

छठ पर्व मनाउन श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ। यहाँ ६० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताए।

छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाइ, रंगरोगनलगायतका काम गरिएको छ। कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरूको संख्या बढ्दै गएको बताए। पूजाका लागि पोखरीको छेउमा दुई हजार एक सय वेदी बनाएको र ३५–४० हजार भक्तजन आउने अनुमान गरेकाे गुप्ताले जानकारी दिए।

भक्तजनको संख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी समेत भएकाे छ। मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू छठ पूजामा सहभागी हुन आउने गुप्ताले बताए ।

सरकारले सार्वजनिक बिदा समेत दिएको हुँदा यस पर्वकाे महत्व व्यापक भएकाे मधेशी समुदायको भनाइ छ। कालीभक्ति गणमा हुने पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खांण समेत सहभागी हुने छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ।

त्यस्तैँ, ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ। हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ। चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *