भगवान सूर्यकाे पूजा गरिने छठ पर्वको महत्त्व

डिसी नेपाल
२४ कार्तिक २०७८ ७:०६

कार्तिकशुक्ल षष्ठी तिथिलाई छठपर्व अर्थात् छठपूजा भनिन्छ। छठ पर्वको दिन भगवान सूर्य नारायणको पूजा गरी अस्ताउन लागेको सूर्यलाई अर्घ दिइन्छ। यस पर्वको मुख्य देवता सूर्यनारायण हुन्।

यसदिनमा भगवान सूर्यको उपासना गर्नाले रोग व्याधि नाश भएर आध्यात्मिक, आधिदैविक र आधिभौतिक तीनै प्रकारका दुःख नाश भएर सखशान्ति प्राप्त भई ऐश्वर्य प्राप्त हुने, आयु वृद्धि हुने कुरा शास्त्रमा पाइन्छ। सूर्य नारायणका उत्पत्तिका विषयमा शास्त्रमा यसरी बताइएको पाइन्छ।

सबैभन्दा पहिला नारायण नारायणबाट ब्रह्मा सृष्टि हुनुभयो। ब्रह्माबाट मरिचि मरिचिबाट कश्यप कश्यपकी पत्नी दक्षपुत्री अदितीबाट सूर्यभगवानको उत्पत्ति भएको कुरा धर्मशास्त्रहरूमा उल्लेख पाइन्छ। भगवान सूर्यको विवाह विश्वकर्माकी पुत्री संज्ञासँग भएको थियो। उनीबाट शनि, सावर्णी मनु छोरा र तपती नामकी छोरीको जन्म भएको कुरा पुराणहरूमा पाइन्छ।

छठ पर्वमा व्रतालुहरूले छठपर्वका दुईतीन दिन अघि देखि नै हर्षोल्लाकासाथ जलाशयको नजिकमा पण्डाल हालेर त्यस पण्डाललाई रङ्गीचङ्गी पारी सिँगारेर सुन्दर बनाउँदछन्।

छठको व्रत गर्ने व्रतालु नारी या पुरुषले कार्तिक शुक्ल षष्ठीका दिन पूरा उपवास बसी त्यो दिन राम्रोसँग धोई पखाली गरेर पवित्र पारेको गहूँलाई घाममा सुकाएर पीठो बनाइ त्यस पीठोमा सखर राखी घिउमा पकाएर ‘ठकुवा’ नामक नैवेद्य तयार गरी बाँकी पूजामा आवश्यक अनुसार चन्दन, अक्षता, सिन्दूर लाजा, धूप, बत्ती, अम्बा , सुन्तला केरा, नरिवल उखु, यज्ञोपवीत वस्त्र आदि फलफूलहरू नाङ्लामा सजाएर षष्ठीका दिन अपरान्ह वा साँझको समयमा नदी वा तलाउ आदि जलाशयमा गएर स्नान गरेर पूजा गरेर सूर्यास्तको प्रतीक्षा गर्ने चलन रहिआएको पाइन्छ।

भगवान सूर्यलाई धर्मशास्त्रहरूमा यसरी बताइएको छ :

देवतिर्यङ्मनुष्याणां सरिसृपमृगवीरुधाम।
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वरः।।

भगवान सूर्य देवता, तिर्यक, मनुष्य, सरीसृप, लता वृक्षहरू आदि जीव समूहरूको आत्मा र आँखाको अधिष्ठाता मानिएको छ। भगवान सूर्यले आफ्नु ताप र प्रकाशले अन्धकारलाई स्वतः नाश गरी तीनै लोक स्वर्ग, मत्र्य र पाताललाई ताप दिएर प्रकाशित गर्नुहुन्छ।

सूर्य भगवानको अरुण नामको सारथीले गायत्रीको सात छन्दनाम भएको सात घोडालाई जोतेर सूर्यनारायणलाई लिएर संसार भ्रमण गर्दा बूढीऔँलाबराबरको बालखील्य आदि साठीहजार ऋषिहरूले स्वस्तिवाचन गर्नुहुन्छ। त्रेतायुगका सुग्रीव र द्वापरयुगका कर्ण पनि सूर्यकै पुत्र हुन्। यस कारण जसले नित्य भक्ति पूर्वक सूर्यको पूजा नमस्कार गर्दछ भने त्यसलाई भगवान सूर्य प्रसन्न भएर आरोग्य ,योग, मोक्ष प्रदान गर्नुहुन्छ।

यस कारण सूर्य पूजा गर्नु जरुरी छ। भगवान सूर्य प्रत्यक्ष देवता हुनुहुन्छ। अरु देवतालाई प्रत्यक्ष देख्न सकिदैन। सूर्य नारायणको स्वरूप मानिएको छ । नवग्रह मध्ये पनि सूर्य माझमा निवास गर्ने भएकाले भगवान सूर्यलाई देवताहरूको अधिपति मालिक पनि मानिएको छ। यस कारण छठपर्वका दिनमा सूर्यनारायणको उपासना गर्दा भगवान सूर्य प्रसन्न भएर व्रतालुका मनोकमना पूर्ण भई ऐश्वर्यको वर्षा भई अनन्तकालसम्म सुख मिल्ने धार्मिक विश्वास रहिआएको छ।

षष्ठिका देवी भनेर प्रकृतिकी छैटौँ अंशलाई पनि भनिन्छ। षष्ठिका देवीलाई बालबालिकाकी हितकारिणी देवीका रूपमा पनि चिन्न सकिन्छ। हिन्दुसंस्कार अनुसार बालक जन्मिएपछि गरिने प्रथम संस्कार पछिको दोस्रो संस्कारका रूपमा गरिने छैठौँ दिनका दिनमा गरिने षष्ठीदेवीको पूजालाई छैटी भन्ने गरिन्छ।

आजकल जन्मदिनमा पनि अष्टचिरञ्जिविकाको पूजाका साथमा षष्ठिदेवीको पनि पूजा गर्ने परम्परा रहिआएको पाइन्छ। तर यो कार्तिकशुक्ल षष्ठीमा भने षष्ठिदेवीको पूजा मात्र नभएर मुख्यरूपमा सूर्यनारायण कै पूजा गरिने हुनाले छठ पर्वलाई सूर्य उपासन ा गर्ने पवित्र पर्वको रूपमा चिनिँदै आएको पाइन्छ।

छठ पूजाका चार दिनमा शुद्ध वस्त्र धारण गर्ने सकभर नसिलाएको वस्त्र लगाउनु महिलाले साडी परुषले धोति पहिरिनु, खाटमा नसुत्नु, सात्विक भोजन गर्नु ब्रह्चर्यका पालन गर्नृ क्रोध नगर्नु स्नान गरेर हात गोडा धोएर प्रसाद ग्रहण गर्नु भन्ने धार्मिक मान्यता रहिआएको पाइन्छ। पौराणिक कथन अनुसार राजा शत्राजित , बालखिल्य ऋषि गोकर्णले पनि भगवान सूर्य नारायण उपासना गरेर भक्ति र मुक्ति पाउनु भएको उल्लेख छ।

ऋषिहरूले पनि भगवान सूर्य सम्बन्धि ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा स्तुति गर्नुहुन्छ। सूर्यको अर्थ परमात्मा पनि मानिएकाले भगवान सूर्यलाई विभिन्न पुष्पद्वारा षोडषोपचार विधिले पूजा गर्दा धन, आयु, आरोग्य सन्ताननहुनेलाई सन्तान सुख , चतुर्विद पूरुषार्थ प्राप्ति हुन्छ भन्ने विश्वास रहि आएको पाइन्छ।
।।अस्तु।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *