कोरियन भाषा इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

डिसी नेपाल
२४ कार्तिक २०७८ १५:२८

काठमाडौं।सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो । साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन आग्रह पनि गरेको छ ।

बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले जानकारी दिए।‘दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,’परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भने।

बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो । छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *