कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणनाको दाबी, तर जिल्लालाई छैन कुनै निर्देशन

डिसी नेपाल
२८ कार्तिक २०७८ ९:३३

दार्चुला । नेपालको नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका-१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ ।

‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन।

कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प्रशासनले अनुमति दिएको छैन।

जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाबारे अनविज्ञता प्रकट गरे । यसबारे कुनै निर्देशन नआएको उनले बताए।

राष्ट्रिय जनगणनाका लागि घरधुरी सूचीकृत गर्दासमेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी सुचिकृत गरिएको छैन । ‘छाङरू-तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति थिएन, घरधुरी सूचीकृत पनि त्यहाँभन्दा अगाडि गरिएको छैन,’ जनगणना अधिकारी पाण्डेले भने ।

जनगणना लक्षित गरी सीमा पुलमै निगरानी

भारतको धार्चुला प्रवेश गर्ने दार्चुला सदरमुकामको सीमा पुलमा भारतीय एसएसबीले नेपाली कर्मचारी तथा नागरिकमाथि सुक्ष्म निगरानी बढाएको छ । नेपाली मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँमा जनगणना बारे चर्चा भइरहेकाले भारतीय सुरक्षा निकाय चनाखो बनेको हो।

गत शुक्रबार भारतीय बाटो भएर ब्यास गाउँपालिका फर्केका शिक्षा शाखा प्रमुख केशबराज ओझाले धार्चुलाको सीमा पुलमा एसएसबीले केरकार गरेको बताए । नेपालमा २५ कात्तिकबाट जनगणना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *