बाढी प्रभावित रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
काठमाडौं। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेकाले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्याइएको हो।
बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोगको निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम तीव्र पारिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
भोटेकोशी बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि रसुवामा हैजा र अन्य पानीजन्य रोग फैलिने उच्च जोखिम छ। जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment