कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालियो, भदौ मसान्तसम्म सवारी सञ्चालन गर्ने लक्ष्य
चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक भासिएपछि अवरुद्ध बनेको सडक सञ्चालनका लागि माथिल्लो भागमा खोलिएको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ।
निर्माण सामग्री तथा उपकरण लैजान सहज बनाउन माथिल्लो भागको रुख कटान र झाडी फाँडेर उक्त ट्र्याक खोलिएको हो।
नौबिसे-मुग्लिन सडक आयोजना (पश्चिमखण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरोग्रस्त क्षेत्रमाथि डाँडाबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक तयार पारिएको छ।
हाल भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने तथा डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
अगामी भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यसहित प्राविधिक सामग्री र पर्याप्त जनशक्ति परिचालन गरी काम भइरहेको आयोजनाले जनाएको छ। अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माण सामग्री, इन्धन ओसारपसार र कामदार आवतजावतका लागि मात्र प्रयोग भइरहेको छ।
निर्माण कम्पनी शर्मा-जेडआइभी जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकभन्दा करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलिएको हो।
यो सर्वसाधारणका लागि खोलिएको नयाँ सडक नभए पनि आपत्कालीन अवस्थामा सर्वसाधारण पैदल वारपार गर्न सक्ने अवस्था बनेको छ।
सडक निर्माणलाई तीव्रता दिन आइतबारदेखि भारी उपकरण थप गरिएको छ। पहिरोस्थलमा दुई वटा एक्साभेटर थपेर सात वटा पुर्याइएको छ भने एउटा जेसिबी, एउटा लोडर र दुई वटा बुलडोजर परिचालन गरी काम अघि बढाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment