कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहमा खटपट, पाैडेल र सिंहबीच किन दूरी बढ्यो?

सम्भव सिंह ठकुरी
२८ कार्तिक २०७८ १३:२६

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी जति तातेको त्यति नै नयाँ गुट, उपगुट र रोचक घटनाक्रम देखिन थालेका छन्।

सभापति शेरबहादुर देउवाको विकल्प खोज्न १४ औँ महाधिवेशनमा संस्थापन इतर समूह साझा उम्मेदारी बनाउन लामो समयदेखि कसरत गरिरहेपनि सबैको आ–आफ्नो अडानका कारण इतर समूहले साझा उम्मेदारी खडा गर्न सकेका छैनन्।

त्यतिमात्र नभएर कांग्रेसमा संस्थापन इतर मानिएको बरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु भएको छ। पौडेल समूहभित्र रहेका नेता प्रकाशमान सिंह सो समूहबाट अलग भएका छन्।

पौडेल समूहले शुक्रबार राखेको भेलामा सिंहले कार्यक्रम नै बहिस्कार गरिसकेका छन्।  प्रकाशमान सिंह निकट स्रोतका अनुुसार उनले भेला बहिस्कार गर्नुको कारण उक्त बैठकमा उनी आफैं सभापतिमा उम्मेदारी दिने योजना हो।

१३ औँ महाधिवेशनमा पौडेलको प्रस्तावकसमेत रहेका सिंह यो महाधिवेशनमा आफू सभापतिको उम्मेदार हुँदा पौडेलको साथ खोजेका छन्। पौडेलबाट ‘ग्रिनसिग्नल’ नपाएपछि यसअघिका बैठकहरुमा नियमित उपस्थित भएपनि यो पटकको बैठकबाट सिंह टाढिएका छन्।

सिंह र पौडेलको दूरी बढ्नुको कारण

सिंह र पौडेलबीच खटपट र दूरी बढ्नुको एउटा कारण पौडेलले सिंहलाई सभापतिमा प्रस्ताव नगर्नु हो। १३ औँ महाधिवेशनमा पौडेल सभापतिको उम्मेदार रहँदा प्रस्तावक रहेका सिंह यो महाधिवेशनमा पौडेलको साथ खोजिरहेका छन्।

तर पौडेल आफैं उम्मेदारी बन्ने लाइनबाट पछि नहटेपछि सिंह सशंकित भएका छन्। त्यति मात्र नभएर सिंह पौडेलसँग रुष्ट हुनुको अर्को कारण मन्त्रिपरिषद बिस्तारमा सिंहको भागमा कुनै पनि मन्त्रालय नपर्नु हो।

संस्थापन इतरबाट दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल र उमाकान्त चौधरी मन्त्री बनेका छन्। यी मध्ये बडू पौडेल निकट मानिन्छन्। रिजाल डा.शशांक कोइराला र चौधरी कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। यसरी सिंहको भागमा कुनै पनि मन्त्रालय नपरेपछि उनी पौडेल संग बिच्किएका हुन्।

‘अप्ठेरो पर्दा सधैं प्रकाश दाइको साथ खोज्छन्, जब अवसर आउँछ एकलौटी ढंगबाट निर्णय गरिन्छ,’ सिंह निकट स्रोतले  डिसी नेपालसँग भन्यो’ ‘शेरबहादुर देउवासँग संसदीय दलको नेतामा चुनाव लड्ने तागत कसैको देखिएन। तर प्रकाश दाइले  चुनाब लड्नु भयो। जव चुनौती आउँछ, प्रकाश दाइ चाहिन्छ,जब अवसर आउँछ उहाँलाई एक्ल्याउन खोजिन्छ।’

सिंह सभापतिको उम्मेदारीबाट पछि नहट्ने

संस्थापन इतर समूहबाट साझा उम्मेदार बन्न नसकेपनि छुट्टै समूह बनाएर सिंह सभापतिमा उम्मेदारी दिने मनस्थितिमा पुगेका छन्। ‘अब प्रकाश दाइलाई साझा उम्मेदार स्वीकार गर्ने वातावरण भयो भने हामी बैठकमा फेरि जोडिने छाैं। नत्र उक्त समूहको बैठकमा जानुको कुनैपनि अर्थ छैन,’ उनी निकटस्रोतले भन्यो, ‘उहाँ कुनैपनि हालतमा सभापतिबाट पछि हट्ने मनाशयमा हुनुहुन्न। त्यसका लागि उहाँ छलफल र संवाद मै हुनुुहुन्छ।’

अनौपचारिक रुपमा पटक÷पटक सभापतिको उम्मेदारी दिने बताउँदै आएका सिंहले औपचारिक रुपमा भने,आफ्नो उम्मेदारी घोषणा गरेका छैनन्। यसका लागि भित्री रुपमा गृहकार्य हुँदै गरेकाले उपयुक्त समयमा सार्वजानिक गर्ने उनी निकट स्रोतले बताएका छन्।

गगन थापा सिंहको महामन्त्री बन्ने सम्भावना कायमै

महामन्त्रीको उम्मेदार दिने घोषणा गरिसकेका नेता गगन थापा र प्रकाशमान सिंहको सम्बन्ध गत असोजमा भएको काठमाडौंको महानगरपालिकाको अधिवेशनमा एउटै समूहमा देखिएका कारण कांग्रेस बृतमा चर्चा नयाँ समूह बन्ने चर्चा चल्यो भने,त्यो समिकरणलाई अर्थपूर्ण तवरले पनि हेरियो।

काठमाडौंको राजनीतिका नेता सिंहको बलियो प्रभाव रहेको छ। काठमाडौमा सिंह समूह र पूर्व मन्त्री भिमसेनदास प्रधान समूहको टकराब हुने गर्दछ। प्रधान नेता कृष्ण सिटौला निकट मानिन्छन्। रोचक कुरो के रह्यो भने १३ औँ महाधिवेशनमा भिमसेनदास प्रधान र गगन थापा नेता सिटौलाको समूहमा थिए। प्रधान अहिले पनि सिटौला समूहमा छन्। तर थापा सिंह समूहसँग निकट देखिए।

यसरी सभापतिका र महामन्त्रीका उम्मेदार रहेका सिंह र थापाको निकटताले कांग्रेस बृतमा नयाँ समूह बन्न सक्ने चर्चा चल्न थालेका छन्। सिंह निकट स्रोत अनुसार पनि थापासँग अधिवेशनको सहकार्यमा छलफलले तिब्रता पाएको बताउँछन्।  ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन, यो त पार्टीको आन्तरिक कुरा न हो,त्यसकारण गगनजी या अरु जो कोही होस्। महामन्त्रीको उम्मेदार बन्ने सम्भावना कायमै छ,’ सिंह निकट स्रोतले भन्यो।

सिंहको दिल्ली यात्राको सन्देश

शुक्रबार पौडेल समूहले बोलाएको भेलामा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाएपछि उनी दिल्ली प्रस्थान गरेका थिए। नेपालको राजनीतिमा सधैं दिल्ली निर्णायक हुने चर्चा चल्ने गर्दछ। अधिवेशनको संघार र समूहको बैठक बहिस्कार गरेका सिंहको यो यात्रालाई पनि निकै अर्थपूर्ण तवरले हेरिएको छ। तर उनी शुक्रबार गएर शनिवार नै स्वदेश फर्किकसेका छन्।

उनको यो यात्रालाई राजनीतिक भ्रमण भन्दा पनि व्यक्तिगत भेटघाटका लागि गएका सिंह निकट स्रोतले बताएका छन्। उनले भने, ‘उहाँको भ्रमण कुनै राजनीतिक भ्रमण भन्दा पनि व्यक्तिगत कारणका लागि जानु भएको हो। तर राजनीतिक व्यक्ति भएका कारण स्वभाविक रुपमा आंशिक राजनीतिक भेटघाट पनि भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *