गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेता घोषणा

डिसी नेपाल
७ साउन २०८३ १७:४३

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति एवम् वरिष्ठ राजनीतिज्ञ गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ चयन गर्ने घोषणा गरेका छन्।

४४औँ बीपी स्मृति दिवस तथा ‘जरा अभियान’को समापनका अवसरमा काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले उक्त सम्मानको घोषणा गरेका हुन्।

लामो समयदेखि पार्टी र प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका श्रेष्ठ हाल क्यान्सर रोगबाट पीडित भई विगत १० दिनदेखि काठमाडौँको हेपाटोलोजी/आइसियु कक्षमा भर्ना भएर गम्भीर उपचार गराइरहेका छन्।

उनको स्वास्थ्य अवस्था जटिल रहेकै समयमा पार्टी नेतृत्वले उहाँको योगदानको उच्च कदर गर्दै यो निर्णय लिएको हो।

सभापति थापाका अनुसार यो निर्णयलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट औपचारिक रूपमा अनुमोदन गराइनेछ।

पार्टी विभाजनका बेला तत्कालीन ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ को कार्यवाहक सभापति, पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।

उनको लामो निष्ठा, समर्पण र पार्टीप्रतिको योगदानलाई सम्मान स्वरूप सर्वोच्च वरीयताको भूमिकामा स्थापित गर्न लागिएको कांग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *