ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
काठमाडौं। काठमाडौंको ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिएको आरोपमा बिहीबार प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल फायरचोक क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गर्ने, हैरानी दिने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले सम्झाइबुझाइ गर्ने क्रममा नियन्त्रणमा परेकाहरूले ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै धक्कामुक्का समेत गरेका थिए।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment