स्वयम्भूस्थित ‘सिंगल ट्रि’ मा पिङ खेल्ने र टिकटक बनाउनेको लर्को (फाेटाेफिचर)

डिसी नेपाल
२८ कार्तिक २०७८ १६:१५

काठमाडौं। महामारीका कारण लामो समयदेखि प्रभावित आन्तरिक र बाह्य पर्यटनको सुधारका लागि नयाँ पर्यटकीय गन्तव्यको सुरुवात गरिएको छ । राजधानीको स्वयम्भू हल्चोकमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी विकास गरिएको ‘सिंगल ट्रि हिल्स’ पर्यटकका लागि नयाँ गन्तव्य बनेको हो।

नयाँ तरिकाले विकास गरिएको ‘सिंगल ट्रि हिल्स’मा पिङ खेल्ने, सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ । केही समयअघि काठमाडौं को न्यूरोडमा आकासमा छाता झुण्ड्याएर बनाइएको ‘अम्ब्रेला स्ट्रीट’, बौद्धको पिपलबोटमा बनाइएको ‘डोको स्ट्रीट’ को सिको गर्दै यो नयाँ पर्यटकीय गन्तव्यको विकास गरिएको हो ।

पर्यटन प्रवद्र्धनका लागि नयाँ विकल्प र अवधारणाका साथ ‘सिंगल ट्रि हिल्स’ स्थापना गरिएको कम्पनीका एक कर्मचारीले बताए। ‘विदेशी अवधारणाबाट प्रेरित भई हामीले पिङ बनाएका हौं’ उनले भने ‘आन्तरिक र बाह्य पर्यटकहरुलाई मनोरन्जन दिने योजनाका साथ यो कम्पनी स्थापना गरेका हौँ ।’

उनका अनुसार यस किसिमका अन्य संरचनाहरु निर्माणधीन समेत छन् । यो पिङको स्थापना भएपछि बालवालिकादेखि जुनसुकै उमेर समूहका पर्यटकहरु आउने गरेको उनले बताए । ‘पर्यटन व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने तरिका सोच्दा सिंगल ट्रिमा पिङको अवधारणा मनमा आयो र यही सोचका साथ सुरु गरेका हौं’ उनले भने ।

काठमाडौंमा आउनेहरु एकपटक त्यहाँ पुगुन् भन्ने उनले चाहना व्यक्त गरे । यहाँ दुईवटा पिङ छन् । एक जनामात्र खेल्न मिल्ने पिङ एक वर्षअघि नै स्थापना गरिएकोमा अहिले एकभन्दा धेरै जना खेल्न मिल्ने पिङ केही साताअघि संचालनमा ल्याइएको छ ।

पर्यटकको आकर्षण बढेपछि पिङ थपिएको उनले बताए । यहाँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म टिकटक बनाउनेहरुको भिड लाग्ने गरेको छ। शनिबार र सार्वजनिक बिदा मा यस्ता पर्यटकको संख्या बढी हुन्छ । ‘धनगढी, पोखरा र काठमाडौंका पर्यटकहरु आएको देखिन्छ’ उनले भने, ‘हामीले आन्तरिक र अन्र्तराष्ट्रिय पर्यटकलाई लक्षित गरेर बनाएका हौं। राम्रो ठाउँ भनेपछि बाहिरबाट पनि आउने रहेछन्।’

सामान्य दिनमा दैनिक २ सय भन्दा धेरै पर्यटक आउने यहाँ सार्वजनिक बिदाको दिन ५ सयसम्म मानिसहरु आउने उनले बताए । टिकटकको माध्यमबाट छोटो समयमै धेरै प्रचार भएकोमा उनी सन्तुष्ट छन्। ‘हाम्रो प्रचार मुख्य गरी टिकटकबाट भएको छ’ उनले भने ‘हामीले बस्ने ठाउँ नै बनाउन सकिरहेका छैनौं, रेष्टुरेन्ट बनिदिएको भए यहाँ आउने आगन्तुकका लागि बस्ने र खाने पनि व्यवस्था हुन्थ्यो।

माग अनुसार रेष्टुरेन्ट बनाउँदै गरेको बताउँदै उनले सम्झौता भएअनुसार ठेक्केदारले काममा ढिला गरेको गुनासो गरे। स्वयम्भूबाट आफ्ना हजुरबुवा र हुजरआमासँग आएका कक्षा २ मा अध्ययन गर्ने सियोन तामाङ एकदमै फुरुङ्ग देखिन्थे। उनले त्यहाँ गएर पिङ खेल्दा रमाइलो भएको बताए। ललितपुरबाट आएका प्रकाश तामाङले पनि आफ्नो सानी भान्जीसँग शनिबारको अवसर पारेर घुम्न आएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *