सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस्: अर्थमन्त्री

डिसी नेपाल
४ मंसिर २०७८ १६:५५

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्दै उनले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गरे ।

अर्थमन्त्रीले भने, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उनले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गरे ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका नेता शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गरे । जनयुद्ध र जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उनले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पारे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *