राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल

डिसी नेपाल
७ साउन २०८३ ८:३७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन् ।

बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन् । यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सबै भन्दा पहिले सहि क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन, रुपान्तरण र एकतावद्ध बनाउनु जरुरी छ ।’

पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा संस्थापक नेताका रूपमा स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन गर्ने नेता भएको बताए । उनले पुष्पलालकै मार्गदर्शनअनुसार अघि बढ्दा नेपालमा जनवादी क्रान्ति सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको तथा समाजवादी रूपान्तरणको आधार तयार भएको दाबी गरे ।

खनालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले भने, ‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’

उनले राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समृद्धि तथा नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालप्रति उच्च सम्मान व्यक्त गरे । उनले पुष्पलालको ऐतिहासिक योगदानकै कारण नेपाली कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुगेको उल्लेख गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *