प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

डिसी नेपाल
९ मंसिर २०७८ ९:१६

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन् ।

प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ भने नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे फर्कने कार्यक्रम रहेको छ ।

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज(बिहीबार) दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुँदैछ ।

महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *