रसुवा बाढीमा हराएका घर्ती दम्पतीको पर्खाइमा लमजुङको परिवार: ‘न सासको खबर, न लासको’

जनक श्रेष्ठ/रासस
२१ भदौ २०८३ ६:४३

लमजुङ। बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेकाले घरपरिवारले राधिका र झपटबहादुर घर्ती काममै रहेको ठानेका थिए।

तर जेठ १० गते बिहान करिब ८:३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका-११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो- ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ।’

त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्-श्रीमती हुन्। रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०-१२ वर्षदेखि उनीहरू कार्यरत थिए।

राधिका खाना पकाउने काम गर्थिन् भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिन्थे। बाढी आएको दिन बिहान करिब ८:३० बजेसम्म परिवारसँग सम्पर्क भएको थियो, त्यसपछि फोन लागेन। झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८:५६ बजेसम्म देखिएपछि बन्द भयो।

उनीहरू कहाँ छन् भन्ने निश्चित हुन नसकेको र सुरुङ वा पावरहाउस आसपास हुन सक्ने अनुमान भतिज विशाल घर्तीले गरे। बाढीपछि नेपाली सेनाले सुरुङभित्र खोजी गरे पनि कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी हुन नसकेको परिवारको भनाइ छ। त्यसयता घर्ती परिवार कतैबाट फोन आउँछ कि वा खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा दिन बिताइरहेको छ।

राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन्। जेठो छोरा आमाबुबाको खोजीमा खटिएका छन्, कान्छो छोरा जापानमा छन् भने छोरीको विवाह भइसकेको छ। अब जिउँदै भेटिने आस लगभग मरिसकेको र कम्तीमा शव भए पनि फेला परे हुन्थ्यो भन्ने चाहना परिवारको छ।

लामो समयदेखि रोजगारीका क्रममा रसुवा पुगेर आयोजनामा काम गर्दै आएका दम्पती एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ। रसुवाको बाढीपछि लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ र उनीहरूको खोजी तथा अवस्था बुझ्ने काम भइरहेको छ।

बाढी आएको दिनदेखि नै प्रभावित परिवारहरू अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशामा बस्ने गरेका छन्।

समय बित्दै जाँदा जीवितै भेटिने आशा कमजोर बने पनि घर्ती परिवार अझै खोजी टोलीबाट आउने सत्य खबर वा अवस्थाबारे स्पष्ट जानकारीको पर्खाइमा छ। रसुवाको बाढीले भौतिक क्षतिसँगै लमजुङका यी परिवारलाई आफ्ना प्रियजनको अनिश्चित प्रतीक्षामा छाडिदिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *