अमेरिका र इरानबीच पुनः बढ्यो द्वन्द्व: समुद्रमा एकअर्काका जहाजमाथि आक्रमण

डिसी नेपाल
२१ भदौ २०८३ ७:२५

बीबीसी। अमेरिका र इरानबिच एक हप्ताको शान्तिपछि पुनः सैन्य तनाव चर्किएको छ। शनिवार दुवै देशले समुद्रमा एकअर्काका जहाजहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेका छन्।

अमेरिकी सेनाका अनुसार उसले इरानसँग सम्बद्ध दुईवटा तेल ट्याङ्करलाई पूर्ण रूपमा निष्क्रिय पारिदिएको छ, जसमध्ये एउटा खार्ग टापुनजिकै रहेको थियो। यस्तै, ओमानको खाडीमा रहेको तेस्रो ट्यांकरलाई भने पूर्ण रूपमा नष्ट गरिएको अमेरिकाले दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले ती तेल ट्यांकरहरू इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आइआरजिसी) र उसका क्षेत्रीय साझेदारहरूलाई आर्थिक सहयोग पुर्‍याउने अर्बौँ डलरको ‘छाया नेटवर्क’को भाग भएको जनाएको छ।

अमेरिकी आक्रमणलगत्तै इरानको राज्य सञ्चारमाध्यम ‘आइरिब’ ले आक्रमणको पुष्टि गर्दै त्यसको जवाफमा तीनवटा अमेरिकी सम्बद्ध जहाज र होर्मुज जलडमरूमध्यबाट ‘अनधिकृत’ मार्ग हुँदै यात्रा गरिरहेका अन्य तीनवटा तेल ट्यांकरमा आक्रमण गरिएको जनाएको छ।

खार्ग टापु नजिकै भएको अमेरिकी आक्रमणमा कुनै मानवीय क्षति नभएको र अन्य ट्यांकरका कर्मचारीहरूलाई उद्धार गरी किनारमा ल्याइएको इरानले बताएको छ।

यसअघि अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकी जहाजमाथि गोली चलाएमा उनीहरूका तेल ट्यांकर ध्वस्त पारिने चेतावनी दिएका थिए।

सेन्टकमका अनुसार इरानले आफ्ना विमानवाहक र गाइडेड-मिसाइल नष्ट गर्ने प्रयास गरे पनि अमेरिकी पक्षले ती आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको जनाएको छ।

अघिल्लो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छ महिनादेखि जारी यो सैन्य द्वन्द्वलाई ‘सानो विषय’ भन्दै टिप्पणी गरेका थिए। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि बृहत् आक्रमण सुरु गरेपछि यो संकट सुरु भएको थियो।

विश्वको २० प्रतिशत तेल र प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक होर्मुज जलडमरूमध्यमा इरानले आवागमन ठप्प पारेपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भएको छ। ६० दिने युद्धविरामको समय सीमा सकिएपछि कूटनीतिक समाधानका संकेतहरू अझै देखिन सकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *