स्विस सरकारको सुन्दर उपहार ‘जिरी प्राविधिक स्कुल’

फुर्पा शेर्पा
१७ मंसिर २०७८ १५:०३

काठमाडौं । नेपालकै दोस्रो प्राविधिक स्कुल दोलखाको जिरीमा रहेको छ। सन् १९८२ सालमा दोलखाको जिरीस्थित ‘जिरी प्राविधिक स्कुल’ स्विस विकास सहयोग(एसडीसी) र नेपाल सरकारको संयुक्त परियोजनाको रुपमा बनाइएको हो।

६० वर्षअघि सुरु गरिएको स्विस सरकारको परियोजनाअन्तर्गत बनेको ‘जिरी प्राविधिक स्कुल’ नेपालको लागि एक सुन्दर उपहार बनेको छ। जिरी विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)अन्तर्गत सञ्चालन भइरहेको छ।

दोलखास्थित जिरी नगरपालिका–५ मा रहेका जिरी प्राविधिक स्कूल काठमाडौंबाट १ सय ८८ किलोमिटर उत्तर पूर्वमा अवस्थित छ । उक्त स्कुल स्थापना गर्नुको मुख्य उद्देश्य कृषि व्यापारमा उपयुक्त र गुणात्मक सीप प्रदान गर्ने, स्वरोजगारी बनाई ग्रामीण समुदायको अवस्था सुधार गर्नु हो ।

उक्त स्कुलले स्थापना भएको दुई वर्षपछि सन् १९८४ को फेब्रुअरीदेखि तालिमको दिन सुरुवात गरेको हो । जिरी प्राविधिक स्कूलका प्रिन्सपल अञ्जना घिमिरेका अनुसार स्कुलबाट हाल ७ ओटा प्रोग्रामहरु संचालन भइरहेका छन् ।

ती प्रोग्रामअन्तर्गत १८ महिनाको प्री–डिप्लोमा कोर्ससमेत रहेको छ । साथै, प्रोग्राममा भाग लिनका लागि विद्यार्थीले एसईई सकेपछि मात्र पाउछन् । प्रिन्सिपल घिमिरेका अनुसार अन्य प्रोग्रामअन्तर्गत कृषिको जुनियर टेक्निकल असिस्टेन्ट्(जेटिए), पशु विज्ञान, सिभिलतर्फ सव–ओभरसियरको पढाइ हुन्छ । यि तीन प्रोग्राममा डिप्लोमातर्फ डिप्लोमा इन प्ल्यान्ट साइन्स, डिप्लोमा इन एनिमल साइन्स, डिप्लोमा इन सिभल प्रोग्रामहरु रहेको उनले बताइन् ।

अहिले इन्जिनियरिङ लगायतका प्रोग्रामहरु सञ्चालन भइरहेको प्रिन्सिपल घिमिरेले जानकारी दिइन् । हाल नेपाल सरकारले पिछडिएका वर्गहरु र लोपोन्मुख जातिहरुको लागि भनेर डिप्लोमा इन एनिमल साइन्समा ४० जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।

प्रिन्सिपल घिमिरेका अनुसार विद्यार्थीलाई छात्रवृत्तिको साथसाथै आवस(होस्टेल)समेत सुविधा दिइएको र खर्चको लागि ३ हजार ५ सय पनि दिइने गरिन्छ । यातायातको खर्चको लागि भनेर वार्षिक १ हजार ५ सय र पोशाक तथा भत्ताको लागि २ हजार ५ सय भनेर नेपाल सरकारले वार्षिक रुपमा प्रदान गरेको छ । डिप्लोमा इन एनिमाल साइन्सअन्तर्गत स्पेशल ग्रुप भनेर डिप्लोमा तहमा ४ ओटा प्रोग्रामहरु छन् ।

२०३९ सालमा स्थापना भएदेखि सो स्कुलबाट हालसम्म ३ हजार ७ सय २५ जना विद्यार्थीले स्नातक गरिसकेका छन् । प्रिन्सिपल घिमिरेका अनुसार स्कुलबाट छोटो अवधिका तालिमहरु पनि सञ्चालन हुने गरेको छ । जुन, कोर्ष ३ सय ९० घण्टाको ६५ दिनको तालिम हुन्छ । हालसम्म यो तालिमबाट ११ हजार ५ सय ६० जनाले लिइसकेका छन् ।

विद्यार्थीहरुको अवस्थाबारे प्रिन्सिपल घिमिरेले भनिन, ‘यहाँबाट पास भएर गएका विद्यार्थीमध्ये ७५ प्रतिशत विद्यार्थीहरु रोजगारमै रहेका छन । १५ प्रतिशतले पढिरहेकै रहेछ भने १० प्रतिशत विद्यार्थी जीवन आर्जन गरेर बसेका छन । हाल यहाँ ४ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् र ५० जना कर्मचारी कार्यरत छन् ।’

सुरुमा पाँच ओटा जिल्ला (दोल्खा, सिन्धुपाल्चोक, रामेछाप, ओख्लदुण्गा, सोलुखुम्बु)का मात्र विद्यार्थी भर्ना लिने गरेकोमा अहिले भने ४५ ओटै जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको प्रिन्सिपल घिमिरेले बताइन् ।

उक्त स्कुलमा सिटीइभिटीको टिभिइटी (टेक्निकल एण्ड भोकेस्नल एजुकेशन एण्ड ट्रेनिङ) शिक्षा प्रणाली अनुसार पढाइन्छ, जसको उद्देश्य रोजगारीका लागि ज्ञान र सीपहरू प्रदान गर्नु हो ।

यो प्रणालीमा औपचारिक र अनौपचारिक शिक्षाहरू समावेश छन्, जसले मानिसलाई रोजगारी बनाउनुको साथै विश्वलाई चाहिने आवश्यक ज्ञान र सीप सिकाउछ ।
प्रिन्सिपल घिमिरेका अनुसार यस्तो किसिमको शिक्षा प्रणालीले प्राविधिक तथा व्यवसायिक शिक्षाको तालिमको प्रणाली अनुसार योग्य र दक्ष जनशक्ति उत्पादन गरी जिरी प्राविधिक शिक्षालाई उत्कृष्ट केन्द्र बनाउनु पनि हो । उनले भनिन्, ‘हाम्रो मिशन भनेको आधारभूत तथा मध्यमस्तरको बजारउन्मुख प्राविधिक जनशक्ति उत्पादन गर्नु र राजगारयोग्य शिक्षा प्रदान गर्नु हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *