शाम्भवी महामुद्राको अभ्यासले तपाईँलाई महासमाधिको स्थितिमा पुऱ्याउन सक्छ – Dcnepal

शाम्भवी महामुद्राको अभ्यासले तपाईँलाई महासमाधिको स्थितिमा पुऱ्याउन सक्छ

काठमाडौं। उत्तरायणको समयमा योगीहरूले आफ्नो आध्यात्मिक प्रक्रियातर्फ केही नयाँ प्रयासहरू गर्छन्, किनकि उत्तरायण भनेको कृपा र बद्धत्त्वको समय हो ।

प्राचीन समयदेखि नै थुप्रैले होशपूर्वक आफ्नो शरीर छोड्नको लागि विशेषगरी यो समयलाई रोज्ने गरेका छन् । यसको एउटा प्रख्यात उदाहरण भिष्म हुन्, जसले उत्तरायण सुरु नहुन्जेलसम्म युद्ध मैदानमा वाणहरूको शैय्यामा मृत्यु पर्खेर बसेका थिए । र, उत्तरायणको पहिलो पूर्णिमाको दिनमा नै विज्जीले महासमाधि प्राप्त गरेकी थिइन् ।

महासमाधि भनेको के हो ?
सम भनेको समान वा निष्पक्ष हो । धि भनेको बुद्धि हो । समाधि भनेको “समबुद्धि” हो, अर्थात् सबैथोक निष्पक्ष भएर हेर्ने बुद्धि । यस्तो बुद्धिले असल र खराब, उच्च र निच, हर्ष र पीडा, सुख र दुःखमा कुनै भेदभाव गर्दैन । महासमाधि भनेको समबुद्धिको सर्वोच्च स्तर हो, जहाँ बुद्धिको समभाव सबैभन्दा उच्च हुन्छ- अर्थात्, यस्तो बुद्धि जसले बाहिरबाट ग्रहण गरेको सबैथोक हराएको हुन्छ ।

यतिखेर, तपाईंको बुद्धिले बाहिरबाट लिइएका चीजहरूको आधारमा काम गरिरहेको हुन्छ । तपाईंले जे पढ्नुभएको छ, जे सुन्नुभएको छ, जे-जति जम्मा गर्नुभएको छ, त्यसैको आधारमा तपाईंको बुद्धिले काम गरिरहेको हुन्छ । तपाईंले आफ्नो दिमागमा जम्मा गर्नुभएका जानकारीहरूले नै तपाईंलाई बुद्धिमानी जस्तो देखाउँछ । तपाईं आफ्नो स्मृति (स्मरणहरू) लाई बुद्धिमत्ताको रूपमा प्रस्तुत गरिरहनु भएको छ, जुन त्यसो होइन । एकचोटि जब तपाईं आफ्नो स्मृतिसँग पहिचान जोड्नुहुन्छ, तब समभाव वा निष्पक्षता सम्भव नै हुँदैन ।

तपाईंको स्मृतिमा जे-जति छन्, ती पूर्वाग्रही तरिकाले सङ्ग्रह गरिएका हुन्- जस्तै कि ‘मलाई यो व्यक्ति मन पर्छ, त्यो व्यक्ति मन पर्दैन; ऊ असल व्यक्ति हो, ऊ खराब व्यक्ति हो; यो एकदमै ठीक छ, त्यो एकदमै बठीक छ ।’ यी सबै निष्कर्ष र पूर्वाग्रहहरू त्यही स्मृतिको परिणाम हुन् । तपाईं सबैथोकलाई असल र खराब, मन पर्ने र मन नपर्ने, उच्च र निच, भगवान र राक्षस भनेर विभाजन गरिरहनु भएको हुन्छ ।

कसरी सम्भव हुन्छ महासमाधि ?

जबसम्म तपाईं आफूसँग भएको स्मृतिको भण्डारसित पहिचान गाँस्नुहुन्छ, सबैथोकप्रति समभाव हुने सम्भावना नै बाँकी रहँदैन । समाधि भनेको निष्पक्ष बुद्धि हो । यसको आशय के हो भने, तपाईंले आफ्नो बुद्धिलाई आफ्नो स्मृतिबाट असंलग्न राख्नुपर्ने हुन्छ । यदि तपाईंको बुद्धि तपाईंको स्मृतिसँग संलग्न रहेन भने, यसले केही समयको लागि त संघर्ष गर्नेछ, तर केही साधना गरेपछि एकाएक तपाईंले यो महसुस गर्नुहुनेछ कि स्मृतिमा भएका कुराहरूले वास्तवमा कुनै पनि अर्थ राख्दैनन् ।

वास्तवमा, स्वतन्त्रता वाहियात् कुरा हो । सबैजना आफू स्वतन्त्र हुन चाहेको कुरा गर्छन्, तर वास्तवमा हेर्ने हो भने उनीहरू स्वयं बन्धनमा फस्ने काम गरिरहेका हुन्छन् । सबैजनाले आफूलाई कुनै वस्तु वा कोही व्यक्तिसँग बन्धनमा बाँध्ने प्रयास गरिरहेका हुन्छन् । चाहे कुनै पुरुषले स्त्रीसँग बन्धनमा बाँधिने प्रयास गरिरहेको होस् वा स्त्रीले पुरुषसँग, अथवा भगवानसँग, पार्टीसँग, विचारधारासित, सिद्धान्तसित, विश्वास-प्रणालीसित, वा अब ईशा ! तपाईं चाहे जुनसुकै कुरासित बाँधिनुहोस्, तपाईंले केही अर्थ खोजिरहनु भएकोले नै आफूलाई त्यस बन्धनमा बाँधिरहनु भएको हुन्छ ।

तर, जुन कुराले तपाईंको स्मृतिलाई मेटाउँछ, त्यसमा तपाईं निश्चित उद्देश्यको लागि बाँधिनुभयो भने, त्यो उचित हुनेछ । केही सुरु गर्नको लागि यसरी बाँधिनु राम्रो हुनेछ, किनकि यसले तपाईं र तपाईंको विगतबीच दुरी बनाउँछ । ब्रह्मचर्य वा सन्यास भनेको नै यही हो, अर्थात् तपाईं आफूलाई आफ्नो स्मृतिबाट विच्छेद गर्नुहुन्छ, किनकि तपाईं समबुद्धि चाहनुहुन्छ- यस्तो बुद्धि जसले कुनै भेदभाव गर्दैन ।

यदि तपाईं आफ्नो स्मृतिसँग लिप्त हुनुहुन्छ भने, तपाईंले सम (निष्पक्ष) हुनु भनेको के हो भनेर कहिल्यै जान्नुहुन्न । यो के जस्तो हो भने तपाईं एक्सेलेरेटर थिचिरहनु हुन्छ अनि गाडी रोकियोस् भन्ने चाहनुहुन्छ । त्यो रोकिँदेन, बरु झन् छिटोछिटो जान्छ । महासमाधि भनेको आफूले कुनै दिन पाउनुपर्ने पुरस्कार होइन । साथै, महासमाधि भनेको जीवनलाई समाप्त गर्ने उपाय पनि होइन । यदि तपाईं दुःख-कष्टमा हुनुहुन्छ, कुनै रोगव्याधि लागेको छ, तपाईंले कुनै काम गर्न सकिरहनु भएको छैन वा केही कुरा पीडादायी भएको छ, अनि तपाईं जीवनलाई अन्त्य गर्ने माध्यमको रूपमा महासमाधि चाहिरहनु भएको छ भने, यसले त्यसरी काम गर्दैन । जीवनलाई समाप्त गर्नु भनेको आत्महत्या हो; यो महासमाधि होइन !

आफ्नो पीडाबाट मुक्त हुनको लागि महासमाधिको बाटो नरोज्नुहोस् । महासमाधिको आकाङ्क्षा राख्नु भनेको यो जीवनलाई अर्को आयामसम्म कसरी माथि उठाउन सकिन्छ भनेर हेर्नु हो । महासमाधिको खोज गर्नुको अर्थ के हो भने, तपाईं यो जीवनसँग यति गहिरो प्रेममा डुब्नुभएको हुन्छ कि तपाईं यसको मूल स्रोत के हो भनेर जान्न चाहनुहुन्छ । अझ भन्नुपर्दा, तपाईंले जीवनलाई पूरै गहिराइमा अनुभव गरिसक्नु भएको हुन्छ, र अब तपाईं जीवनका अनेक आयामहरूलाई जान्न चाहनुहुन्छ ।

तपाईंमा यसप्रति गहिरो चाहना हुँदैमा महासमाधि प्राप्त हुँदैन । यो तबमात्र प्राप्त हुन्छ, जब तपाईं आफूलाई आफ्नो स्मृतिबाट विच्छेद गर्नुहुन्छ- अर्थात्, तपाईं आजलाई आज जसरी नै बाँच्नुहुन्छ, न कि विगतमा जम्मा गरिएका वाहियात् चीजहरूको सङ्ग्रहको रूपमा । हामीले तपाईंहरूलाई त्यसको निम्ति विधि र प्रक्रियाहरू सिकाइ सकेका छौँ । शाम्भवी महामुद्रा जस्तो सरल अभ्यासले समेत तपाईंलाई त्यस स्थितिमा पुऱ्याउन सक्छ । त्यसको निम्ति तपाईंले सही माहोल सृजना गर्नुपर्ने हुन्छ । तपाईंलाई अरू केही पनि चाहिँदैन ।

यदि तपाईंले शाम्भवी महामुद्रा क्रियामा दीक्षा लिनुभएको छ भने, हामीले तपाईंलाई भनेको नै छौँ कि शाम्भवी सुरु गर्नुअघि इनर इन्जिनियरिङ्ग कार्यक्रममा सिकाइएका कुराहरू स्मरण गर्नुहोस् । किनकि, यदि तपाईंले सही परिवेश सृजना गर्नुभएन भने, वा भनौँ आफू जेमा बाँधिनुभएको छ, त्यसबाट नछुटिकनै तपाईंले डुङ्गा खियाउनुभयो भने, मौसमको कराणले चाहिँ त्यहाँको दृश्य बदिलिएला, तर तपाईं कहीँकतै पुग्नुभएको हुँदैन ।

‘ए ! थुप्रै कुराहरू फेरिएका छन्” भनेर तपाईं आफूलाई मूर्ख बनाउन त सक्नुहोला, तर वास्तवमा केही पनि बदिलिएको हुँदैन । तपाईं जहीँको त्यहीँ रहनुहुन्छ, किनकि तपाईं स्मृतिको भण्डारमा बाँधिनुभएको छ । यस संस्कृतिमा मानिसहरूले ‘हत्तेरी कर्म !’ भनेर भन्ने गर्दथे । हत्तेरी कर्म भनेको के हो भने, तपाईं जतिखेर पनि यो स्मृतिको भारी घिसारेर हिँडिरहनु भएको हुन्छ, तर तपाईं मुक्त हुन चाहनुहुन्छ । यदि मैले ‘ल, जाऔँ !’ भनेँ भने, तपाईं सोध्नुहुन्छ, ‘ अनि, मेरो भारी नि !’ यही भारी नै बन्धन हो । तपाईंलाई अरू कुनै पनि कुराले बाँधिरहेको छैन ।

कर्म नै एकमात्र बन्धन हो । तर, के तपाईं आफ्नो अतीतलाई त्यागेर यत्तिकै यहाँ रहन इच्छुक हुनुहुन्छ ? अहँ, तपाईं आफ्नो पूरै अतीतलाई बोकेर हिँड्न चाहनुहुन्छ । यदि तपाईंले आफ्नो जवानी र स्वास्थ्य पुनः पाउनुभयो भनेपनि, तपाईं पुनः त्यही चीजहरू गर्नुहुनेछ । मलाई यो कुरा पक्का थाहा छ कि तपाईंहरूमध्ये थुप्रैले जीवनको विभिन्न चरणहरूमा आफ्नो सहयात्रीसँग यो वाचा गरिरहनु भएको छ, “यदि म अर्को सात जुनीसम्म यहाँ आएँ भनेपनि, म तिमीसँग मात्रै रहन चाहन्छु !”

यदि यो सत्य हो भने, यो त्रासदी हुनेछ । यदि यो सत्य होइन भने, बुद्धिमानी । के रोज्नुहुन्छ, त्यो तपाईंहरूलाई नै छोडिदिन्छु । तपाईं पीडामा रहेको कारण महासमाधिको आकाङ्क्षा नगर्नुहोस् । आफूले जीवनमा सन्तुष्टि र तृप्ती अनुभव गरेकोले अनि यसलाई पर्याप्त रूपमा देखिसकेको हुनाले, यदि तपाईंमा जीवनको अर्को आयाममा जाने चाहना छ भनेमात्र महासमाधिको आकाङ्क्षा राख्नु उचित हुन्छ । विगतमा के भयो भन्ने कुराले कुनै अर्थ राख्दैन । किनकि, यदि तपाईं अहिले कुनै कुराबाट पीडित हुनुहुन्छ भने, त्यसको एउटै कारण यो हो कि तपाईं यस्तो कुरा याद गरिरहनु भएको छ, जसलाई तपाईंले राम्रो ठान्नुभएको थियो ।

स्मृतिको भारीलाई बिसाउनु होस् । बिहान उठ्नुहोस्, भर्खरै उदाएको सूर्य नवीन हुन्छ, हावा पनि ताजा र स्वच्छ हुन्छ, सबैथोक नयाँ हुन्छ- यी सबैलाई त्यही रूपमा अनुभव गर्नुहोस् । त्यसपछि, तपाईंलाई सिकाइएको सरल क्रियालाई आफूले सकेजति पूरै संलग्न भई साथै त्यसमा समर्पित भई अभ्यास गर्नुहोस् । जब यहाँबाट जाने समय आउँछ, म यो सुनिश्चित गर्नेछु कि तपाईं यहाँबाट राम्रोसँग जानुहुनेछ । यो एउटा वाचा हो ।

तर, आफ्नो जीवन पीडादायी भयो भनेर यसलाई अन्त्य गर्ने प्रयास नगर्नुहोस् । यदि तपाईंले पीडा र दुःखको अनुभव बोकेर यहाँबाट जानुभयो भने, त्यही कुरा लाखौँ गुणाले झन् बढ्नेछ । त्यसैले, आफूसँग त्यस्तो कहिल्यै नगर्नुहोस् । तपाईं त यस संसारमा आफ्नो कर्मलाई रित्याउन आउनुभएको हो, उल्टो त्यसलाई कैयौँ गुणाले बढाउनको लागि होइन । यदि तपाईंले त्यसलाई पूर्ण रूपमा रित्याउन सक्नुभएको छैन भनेपनि, कम्तीमा सम्भव भएसम्म कम त गर्नुहोस् !

यति त तपाईंले गर्नैपर्छ, किनकि तपाईं जुन काम गर्न सक्नुहुन्छ त्यति पनि गर्नुहुन्न भने, म कसरी तपाईंलाई मद्दत गरूँ ? यदि तपाईंले आफूले सक्नुभएको सबैथोक गर्नुभयो भने, केही निश्चित कुराहरू छन्, जुन तपाईं गर्न सक्नुहुन्न- किनकि ती कुराहरू तपाईंको अनुभवमा छैनन् । ती कुराहरू म तपाईंको निम्ति शत-प्रतिशत गर्नेछु !

सदगुरुको प्रवचनमा आधारित

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो