अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै

डिसी नेपाल
२१ मंसिर २०७८ १२:२०

अछाम। अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्याेट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेकाे साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन्।

चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ। न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा सम्बन्धित छन् । आर्थिक वर्ष ०७४/०७५ मा ७ वटा, ०७५/०७६ मा ६ वटा उजुरी आएका थिए।

अघिल्लो आर्थिक वर्षमा ६ वटा उजुरी आएकोमा गतआर्थिक वर्षमा १३ वटा उजुरी न्यायिक समितिमा उजुरी आएको थिए । ३३ वटा उजुरीमध्ये २७ वटा उजुरी फर्स्याेट भएका छन्। बाँकी ६ वटा उजुरी फर्स्याेट गर्ने बाँकी रहेका उनकाे भनाइ छ ।

विशेष गरी घरझगडा तथा साँधसिमाना, जग्गा विवादका गुनासा न्यायिक समितिमा आउने गरेको उनले बताए । हालसम्म नगरको न्यायिक समितिमा आलिधुरका १० वटा, घरेलु हिंसाका नाै, सम्बन्ध विच्छेदका एक, गालीबेइज्जतीका दुई, ज्याला मजदुरी नदिएका दुई, कुटपिटका दुई, श्रीमानले खान नदिएकोे दुई, आर्थिक लेनदेनका चारवटा मुद्दा आएको नगर उपप्रमुख बुड्थापाको भनाइ छ। सम्बन्ध विच्छेदको मुद्दालाई अदालत पठाएको उनले जानकारी दिइन्। कानुनी सहजकर्ताको स्थायी दरबन्दी नभएका कारण काम गर्न असहज भएको उनको गुनासो छ।

मंगलसैन नगरपालिकाको न्यायिक समितिमा ३९ वटा उजुरी आएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी दिइन्। ३९ मध्ये २७ वटा उजुरी फर्स्याेट भएकाे छ भने १३ उजुरी बाँकी रहेको उनले बताइन् ।

नगरपालिकामा अर्काको जग्गा भोगचलनसम्बन्धी सात, गाली बेइज्जतीका २१, बालीबिगोका दुई, लेनदेनका तीन, ध्वनि प्रदूषणसम्बन्धी एक, संरचना निर्माणसम्बन्धी पाँचवटा उजुरी परेको उनले जानकारी दिइन् । पालिकाका पाँच स्थानमा मेलमिलाप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने पालिकामा ४२ जना मेलमिलापकर्तालाई तालिम दिइएको नगर उपप्रमुख उपाध्यायले जानकारी दिइन् ।

पञ्चदेवल नगरपालिकामा १९ वटा उजुरी परेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा १० वटा र २०७६-७७ मा पाँचवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्याेट भएका छन् । २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा मिलमिलापको माध्यमबाट फर्स्याेट भएको छ । एउटा टुंग्याउन बाँकी छ ।

चौरपाटी गाउँपालिकामा १२ वटा उजुरी परेको गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा चारवटा, २०७६-७७ मा तीनवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्याेट भएका छन् । गत आव २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा फर्स्याेट भएको छ । एउटा फर्स्याेट हुन बाँकी छ । यो आर्थिक वर्षमा एउटा उजुरी परेको र फर्स्याेट हुन बाँकी रहेको न्यायिक समिति संयोजक कुँवरले जानकारी दिइन्नु । न्यायिक समितिमा आएका सबै उजुरी मेलमिलापमार्फत निरुपण गरिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *