सभापतिमा देउवा, कोइराला र सिंहमध्ये कसले बाजी मार्दैछन् ?

विजयप्रसाद मिश्र
२६ मंसिर २०७८ १९:००

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा सोमबार बिहानबाट मतदान हुँदैछ । सभापतिमा उम्मेदवार रहेका पाँचजनामध्ये अहिले बढी चर्चामा रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह नै हुन् । यी तीनमध्ये कसले सभापतिमा जित्नेछन् भन्ने विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।

शेरबहादुर देउवा र डा. शेखर कोइराला पहिलो चरणमै आफू बिजयी हुने ठोकुवा गरिरहेका छन् भने बाँकी सभापतिका दावेदारहरुमध्ये बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले पहिलो चरणमा कसैले ५० प्रतिशत टपाउन नसक्ने जीकिर गरिरहेका छन् । पहिलो चरणमा वा दोस्रो चरणमा आखिर जीत्न त कसले जीत्छ भन्ने कुरा नै यहाँ महत्वपूर्ण हो ।

धेरैले अनुमान गरेको के हो भने पहिलो चरणमा कसैको ५० प्रतिशत मत नपुगे पनि शेरबहादुर देउवा प्रथम स्थानमा र डा. शेखर कोइराला दोस्रो स्थानमा आउनेछन् । त्यसपछि दोस्रो चरणमा बिमलेन्द्र निधिले आफू देउवालाई समर्थन नगर्ने बताइसकेका छन् । तर के निधिले भनेको उनका समर्थकहरुले मान्दछन् त ? प्रदेश २ को लागि केन्द्रीय सदस्य प्यानलबाट उठाउन नसक्ने निधिलाई अब पाँच सभापतिका दावेदारहरु मध्ये सबैभन्दा कम मत आउने उम्मेदवारको रुपमा हेरिएको छ ।

निधिलाई कल्याण गुरुङले नै पछि पार्ने हुन कि भन्ने अडकल गरिदैछ । त्यसैले निधिले जुन किसिमले पहिलो चरणको निर्वाचन नहुँदै आफ्नो समर्थन देउवासँग प्रतिस्पर्धा गर्नेलाई हुनेछ भन्नुको तात्पर्य अब उनलाई समर्थन गर्नेहरु झन बिच्किएका छन् ।

निर्वाचनको मनोविज्ञान पनि के हो भने मतदाताले जो जीत्दैछ भन्ने हल्ला सुन्दछ उतै तिर मत दिन्छ । हल्लाको मत केही प्रतिशत पाइन्छ नै त्यसैले पहिलो चरणमै जीत्ने रणनीतिमा रहेका शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौला, बिजयकुमार गच्छदार र सुनिल थापाको पक्षको थप मत पाउँछन् नै । बिमलेन्द्र निधिले बिगार्नसक्ने भोट पनि निधि हार्ने नै हो भने किन उनलाई दिने भन्न थालेका छन् ।

डा. शेखर कोइरालालाई कोइराला परिवारको एकजनामात्र उम्मेदवार भएमा जीत्न सजिलो पर्दछ भनिएको थियो । त्यसमा उनी कोइराला परिवारको एकल उम्मेदवार हुन सफल भएका छन् । जीत्ने एक लक्षण त पुरा नै भयो । तर गिरिजाप्रसाद कोइरालाको छोरी सुजाता कोइराला प्रकाशमान सिंहको समुहबाट उपसभापतिमा उठेपछि गिरिजा कोइराला भक्तहरुले जतिसुकै हालतमा पनि सुजाता कै कुरा सन्दछन् ।

अर्को तर्फ डा. शेखर कोइरालालाई कोइराला परिवारको एकजनामात्र उम्मेदवार भएमा जीत्न सजिलो पर्दछ भनिएको थियो । त्यसमा उनी कोइराला परिवारको एकल उम्मेदवार हुन सफल भएका छन् । जीत्ने एक लक्षण त पुरा नै भयो । तर गिरिजाप्रसाद कोइरालाको छोरी सुजाता कोइराला प्रकाशमान सिंहको समुहबाट उपसभापतिमा उठेपछि गिरिजा कोइराला भक्तहरुले जतिसुकै हालतमा पनि सुजाता कै कुरा सन्दछन् । त्यसैले कतै कोइराला परिवार भित्रको आन्तरिक खिचलोले भित्रभित्रै भुसभुसे आगोको काम त गर्ने होइन भन्ने आंकलन गर्नेहरु पनि प्रशस्त छन् ।

हो, शशांकले प्रकाशमान सिंहलाई उपत्यका बाहिर कसैले चिन्दैन भनेर दिएको अभिव्यक्तिबाट चिढिएका सिंहलाई कोइराला परिवारसँग बदला लिनु पर्ने छ । यसले गर्दा दोस्रो चरणको निर्वाचनमा प्रकाशमानले डा. शेखरलाई सहयोग गर्ने सम्भावना न्यून छ । पश्चिममा जो जो डा. शशांकका मानिसहरु छन् उनीहरु शशांकको पछि शेरबहादुर देउवालाई नै मान्दछन् । त्यसैले शशांकले भनेकै भरमा सबै मत डा. शेखरले पाउँदैनन् ।

डा. शशांकलाई पश्चिममा स्थापित गर्नका लागि शेरबहादुर देउवाको समेत योगदान रहेको स्वयं कोइरालाले नै बताउँदै आएका छन् । यसले गर्दा अहिलेको मतदाताहरु कसैले भनेकै भरमा कतैतिर ओइरिने प्रबृत्तिका छैनन् । त्यसैले चाहे देउवा हुन वा कोइराला दुबैले जुन जोडघटाऊ गरेर बसिरहेका छन् त्यो प्राप्त नुहने संकेत देखिएको छ ।

काँग्रेसका मतदाताहरु मध्ये केही घरबाट राजधानी आउँदै यसलाई मत दिन्छु भनेर खेमा छुट्टाएर आएका छन् । तर करिब ३० प्रतिशत मतदाता रातारात परिवर्तन हुने खालका छन् । उनीहरु सबैको कुरा सुन्दैछन् र अन्तिममा कसलाई मत दिने आफै निर्णय गर्नेछन् । त्यस्ता मतदाताहरुले बुझ्नु पर्ने कुरा के छ भने नेपालको राजनीतिमा क्षेत्रीय सन्तुलन मिलाउनका लागि सुदुर पश्चिमका लाई पनि कुनै पार्टीको सभापति बनाउनु पर्ने देखिन्छ ।

जस्तो की एमाले र राप्रपाको सभापति दुबै झापाको भएपछि काँग्रेसको पनि पूर्वबाटै सभापति बनाइयो भने नेपालको भौगोलिक आधारमा राजनीतिक सन्तुलन गुम्न सक्छ । त्यसैले अब नेपाली कांग्रेसको सभापति सुदुर पश्चिमबाट आवश्यक छ । यसका लागि शेरबहादुर देउवालाई सभापति बनाउनु पर्दछ भन्नेहरु छन् । तर कोही भने विराटनगर राजनीतिक शहर हो, यहाँकै व्यक्तित्वलाई सभापति बनाउनु पर्दछ भन्दैछन् भने कोही राजधानी काठमाडौंका प्रकाशमान सिंहलाई यसपटक अवसर दिऔं भन्दैछन् ।

भनिन्छ नेपालमा सूर्य पनि अस्ताउनका लागि मात्र सुदुर पश्चिम जान्छ । अर्थात विकास र अवसरहरु सबैभन्दा पछि सुदुर पश्चिम पुग्दछ । यसले पश्चिममा नागरिकहरु घाटामा छन् । शेरबहादुर देउवालाई एकपटक फेरी सभापतिमा जीताएर विकास र अवसर केही बर्ष अझ सुदुर पश्चिममा लान आवश्यक छ भन्ने तर्क दिनेहरु पनि छन् ।

पुस्ता हस्तान्तर गर्ने कुरा सभापतिमा भन्दा अन्य पदाधिकारी र सदस्यहरुमा बढी जोडतोडले उठेको छ । अमेरिकाका राष्ट्रपति भन्दा त शेरबहादुर देउवा उमेरले कान्छो हुन । अमेरिकाले विश्व हाँक्दा देउवाले नेपाल नहाक्ने कुरै आएन भन्नेहरु पनि छन् ।

यहाँ शेरबहादुर देउवामा पेलेर होइन मिलाएर लाने प्रबृत्ति छ भन्नेहरु पनि छन् । यसका लागि कृष्णप्रसाद सिटौलालाई मिलाउन सकेको तर्क गर्नेहरु छन् । कोइराला परिवार त त्यसैपनि एक हुने नै थियो, भयो पनि । तर, देउवाले प्रदेश नं. २ मा आफ्नो प्यानलका दुई केन्द्रीय सदस्यलाई निर्विरोध बनाउन सक्नुको पछाडी सबैलाई मिलाउन सक्ने रणनीति भएकाले हो भन्ने तर्क दिनेहरु पनि छन् । यसले प्रदेश २ जहाँ धेरै भोट छ त्यहाँ पुरुषको दुई सिटमा अरु सभापतिका दावेदारहरुले उम्मेदवार खडा गर्न नसक्नुले मिलाउन नसकेको वा उनीहरुलाई प्रदेश २ ले नटेरेको भन्ने प्रष्ट छ ।

सबैलाई मिलाएकैले देउवाले पाँच दलिय गठबन्धनमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई समावेश गरेर उदारता देखाएका छन् । त्यसैगरी प्रदीप पौडेललाई आफ्नो समुहमा महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री दिएर मिलाउने प्रयास गरेकै हुन् । यी उदाहरणहरुले अरु प्रतिस्पर्धीभन्दा देउवा टाक्कटुक्क पार्नका लागि माहिर खेलाडी हुन भन्न सकिन्छ ।

तटस्थ बस्ने धेरैले के सोचिरहेका छन् भने कोइरालाले नेतृत्व पाएभने फेरी नेपाली काँग्रेसका धेरैले पेलाई व्यहोर्नु पर्दछ । त्यसबाट बच्नका लागि पनि शेरबहादुर देउवाको पक्षमा मतमाग्नेहरु पनि देखिन्छन् ।

 

कोइराला परिवारले भने गणेशमान सिंह र कृष्ण प्रसाद भट्राईलाई त पेले पेले । दोस्रो पुस्ताका धेरैलाई गिरिजाप्रसाद कोइरालाले पेलेर राजनीतिक जीवन नै समाप्त पारी दिएका थिए भन्ने गरिन्छ । तटस्थ बस्ने धेरैले के सोचिरहेका छन् भने कोइरालाले नेतृत्व पाएभने फेरी नेपाली काँग्रेसका धेरैले पेलाई व्यहोर्नु पर्दछ । त्यसबाट बच्नका लागि पनि शेरबहादुर देउवाको पक्षमा मतमाग्नेहरु पनि देखिन्छन् ।

सबैभन्दा महत्वपूर्ण विरासतको राजनीति तेस्रो पुस्तामा गएर फितलो हुन्छ भन्ने उदाहरण भारतमा देखिएको छ । त्यस्तै स्थिति नेपालमा कोइराला परिवारलाई लागु हुन्छ भन्नेहरु छन् । यहाँ कोइराला भन्दा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई भने अन्याय भएको बताइन्छ । गणेशमान सिंहले दिएको प्रधानमन्त्री पद नलिएर त्याग गरेका थिए ।

त्यसैले प्रकाशमान सिंहले अवसर पाउनु न्याय संगत नै हो किनकी उनले फुलटाइम राजनीति गरेका छन् । तर कोइराला परिवारका डा. शेखर कोइरालाले आफू २५ बर्ष सरकारी जागिरे भएर बुढ्यौलीमा कांग्रेसको सभापति बन्न मिल्दैन भन्ने तर्क पनि दिइन्छ । यसले पनि दोस्रो नम्बरमा चर्चामा रहेका डा. शेखरलाई जागिरकै कारणले मत नदिनेहरु पनि निस्कन सक्दछन् ।

सबैभन्दा महत्वपूर्ण कुरा पार्टीको सभापति हुनेले कम्तिमा आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्षमा जहिले पनि जीत्नसक्ने हैसियत राख्नु पर्दछ । यस मामिलामा अहिले सभापतिको दावेदारहरु मध्ये सधैं जीत्ने भनेको एकमात्र शेरबहादुर देउवा हुन । एकपटक मात्र हार्ने प्रकाशमान सिंह भएपनि २०७४ को विषम परिस्थितिमा पनि विजयी भएका छन् । बिमलेन्द्र नीधि र डा. शेखर भने हार्नेमा पर्दछन् । यसलाई आधार मान्दा शेरबहादुर देउवा एकनम्बरमा पर्ने भ एभने दोस्रोमा प्रकाशमान सिंह पर्ने भए । शेखर कोइराला त दुई दुईपटक प्रत्यक्षमा हारेको भन्ने ट्याग लागेको छ ।

बिराटनगरको बीपी निवास भनेर चिनिएको कोइराला परिवारको बासस्थानमा बीपी पुत्रलाई नै बस्न दिइएन र पश्चिम तर्फ लखेटिएको छ । बीपी निवास हेर्न जाने देशभरका काँग्रेसीहरु हिजो आज कोइराला परिवारले प्लटिङ् गरेर ७५ प्रतिशत जग्गा बेचेकोले बीपी निवासको छातीमा सपिङ् मलहरु खुलेको देखिन्छ । धन्न डा. शेखर कोइरालाले आफ्नो भागमा परेको पुरानो घरलाई बचाई राखेका छन् ।

अन्य कोइराला परिवारमा लगाइएको भाग बेचेर गर्जो टारेका छन् । कोइराला परिवारलाई नपुग्दो के थियो र भन्नेहरु पनि छन् । एतिहासिक रुपमा संरक्षण गरेर राख्नु पर्ने स्थानलाई आपसमा भागबण्डा गरेकोमा आम कांग्रेसीहरु रुष्ठ छन् । उक्त जग्गामा प्लटिङ्गर्न नदिने अभियान स्थानीय काँग्रेसका कार्यकर्ताहरुले गरेको भएपनि अर्काको व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप सधैं गर्ने कुरा आएन । यसले गर्दा पनि कोइराला परिवारको मोरङ् बाहिर जति क्रेज छ । भित्र मोरङ्मा त्यो क्रेज छैन । प्रदेश नं. १ मा सिटौला गुटकाले प्रदेश सभापतिमा जीत्नुले पनि कोइरालाहरु आफ्नै घरमा कमजोर छन् भन्ने देखिएको छ ।

मतदाताहरु अझै पनि के गरौं कसो गरौं भन्ने दुविधामा छन् । समग्रमा हेर्दा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचमा प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो चरणमै शेरबहादुर देउवाले जीते भने जीतिहाले हैन भने निर्वाचन दोस्रो चरणमा गएमा डा. शेखर कोइरालाको स्थिति बलियो हुने देखिन्छ । अन्य उम्मेदवारहरु भने अहिले नै हार्छु भन्ने मानसिकतामा पुगिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *