३३ किलो सुन तस्करी प्रकरणः मूख्य आरोपी अग्रवाल ३ लाख धरौटीमा रिहा

डिसी नेपाल
२७ मंसिर २०७८ २०:४३
228
Shares

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा आरोपित एमके मामा भनिने मोहनकुमार अग्रवाल धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालतमा हाजिर भएका अग्रवाललाई ३ लाख धरौटीमा रिहा गरिएको हो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले अग्रवाललाई मूख्य आरोपी बनाई जिल्ला अदालत मोरङमा मुद्धा दायर गरेको थियो । तर उनलाई हाजिर भएकै दिन सुटुक्क धरौटीमा रिहा गरेको हो ।

नेपालमा पछिल्लो पटक सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणमणि उप्रेती गोरेले आयात गर्ने सुनको लगानीकर्ता अग्रवाल रहेको सरकारी दाबी थियो । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले अग्रवाललाई मूख्य लगानीकर्ताको रुपमा मुद्धा दायर गरेको थियो ।

२०७४ साल माघ १९ गते शाक्यको हत्या भएलगत्तै अग्रवाल फरार थिए । सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।

५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का स्थायी बासिन्दा हुन् । सोमबार हाजिर भएका अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए ।

२२ मंसिर गते लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता भनी आरोपित काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा जिल्ला अदालतले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । २१ जना फरार थिए । फरारमध्ये हाजिर हुन आएका दुई जना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

तस्करीको सुन हराएपछि गोरेको समूहले भरिया सनम शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिएर हत्या गरेको थियो । हत्याको भोलिपल्ट विराटनगरबाट उनको शव बरामद भएको थियो ।

हत्याको अनुसन्धानका क्रममा सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा दुबइदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको सरकारी पक्षको दाबी थियो । तर हत्या बाहेक तस्करीमा भने प्रमाण अपुग भएको भन्दै अदालतले आरोपीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *