पहुँचवालाले बुस्टर डोज लगाइसके, सर्वसाधारण भने कोरोना खोप कै पर्खाइमा

डिसी नेपाल
२ पुष २०७८ ११:०५

सप्तरी। कोरोनाले विश्वका धेरै देशका नागरिकहरु त्रासमय जिवन बिताउन बाध्य भए । कोरोनाकै कारण कतिको परिवार सखाप भयो, कतिले रोजगारी गुमाए। धेरै परिवारले इष्टमित्र गुमाए, कतिले परिवारका सदस्य, छिमेकी ईष्टमित्रबाट तनाव खेपे।

अधिकांश परिवारका विद्यार्थीहरू अध्ययन, अध्यापनबाट टाढा हुँदै गए। अधिकांश समय परिवारका सबै सदस्य घरभित्र नै बस्न बाध्य भए । यो समयमा समय बिताउने सजिलो साथी मोबाइल बन्यो। दुई बर्षको यो कोरोना कालमा मोबाइल ल्यापटप लगायतका इलेक्ट्रोनिक डिभाइसको लत सबैलाई बस्यो। कोरोनाको समयमा घरमा बसेर काम गर्न होस् या साथीभाइसँग कुरा गर्न भारपर्दो साथी मोबाइल नै बन्यो।

यो मोबाइलको लत यतिसम्म बस्यो कि अहिलेसम्म त्यसबाट उन्मुक्ति पाउन गाह्रो भएको छ।  कोरोना कहरले अरु क्षेत्रझैँ  शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको सप्तरीका महिला अधिकारकर्मी मालती चौधरीले बताइन्। चौधरीले भनिन्,’ केही दिन यता पुनः कोरोना बढ्दै गएको छ। काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन विश्वको धेरै मुलुकमा फैलिसकेको छ। फैलिनेक्रम जारी छ। यसबाट एक जनाको मृत्यु समेत भइसकेको छ।’ यसबाट जोगिन सर्वसाधारणलाई ठूलो चुनौती रहेको बेला ठूलावडा पहुँचवालाले बुस्टर डोज लगाई आ-आफ्ना ज्यान जोगाएको र जोगाई रहेको सुन्दै आएको चौधरीले बताइन्।

अस्ट्रोजेनेका भ्याक्सिन लिएको ३ महिना बितिसक्दा पनि दोस्रो डोज अहिलेसम्म नपाएको म वि व क्याम्पस राजविराजमा बिएड तेस्रो वर्षमा अध्ययनरत राधा चौधरीले बताइन्।  उनले भनिन, ‘कति पटक सोधिसके कहिले भ्याक्सिन आउँछ ?’ अहिले आएको छैन् भन्दै फर्काइ दिने गरेको उनले दुखेसो पोखिन्। अब भ्याक्सिन आएपनि लिँदा त्यसले काम गर्छ, कि गर्दैन भन्ने उनलाई शंका लागेको छ

त्यस्तै, राजविराज राजदेवी मा. विमा कक्षा १० मा अध्ययनरत १८ वर्षीया बिनिता रजकले भनिन्, ‘ हामीहरू नियमित बिद्यालय जाँदैछौं। केही दिन बिराएर कोरोना बढेको सुनिन्छ, अहिलेसम्म भ्याक्सिन लिन पाइएको छैन। डराई डराई बिद्यालयमा पढ्नुपर्ने बाध्यता छ।’ स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गर्न यस जिल्लामा कसैले चासो नदेखाई रहेको बिनिताको भनाइ छ।

कोरोना बिरूद्ध भ्याक्सिनले नयाँ भेरियन्ट अमिक्रोनबाट पनि जोगिन सक्ने चिकित्सकहरूले बताई रहँदा समेत अहिलेसम्म सप्तरीका ३२ दशमलव ७८ प्रतिशत सर्वसाधारणले मात्र भ्याक्सिन लिन पाएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीमा बिहीबारसम्मको तथ्यांकमा छ। २०७७ साल माघ १४ गतेबाट सुरु भएको खोप अभियानले लगाउने क्रम यस्तै अबस्थामा रहयो भने सप्तरीका सबै नागरिकलाई लगाउन तीन वर्ष लाग्ने स्थानीयहरू बताउँछन् । यस्तै अवस्था रहेमा थपिदै आएको नयाँ नयाँ भेरियन्टका कारण थप समस्या हुनसक्ने स्थानीयहरूको भनाइ छ।

सप्तरीमा ३४ दशमलव ३ प्रतिशत, सिरहामा ३२ दशमलव १६ प्रतिशत, धनुषामा ३३ दशमलव ६० प्रतिशत, महोत्तरीमा २९ दशमलव ४१ प्रतिशत, सर्लाहीमा ३६ दशमलव ८३ प्रतिशत, रौतहटमा २९ दशमलव ४१ प्रतिशत, बारामा ३२ दशमलव ७७ प्रतिशत र पर्सामा ३३ दशमलव ४३ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत सरोज यादवले जानकारी दिए ।

प्रदेश नं २ मा अहिलेसम्म ३२ दशमलव ३ प्रतिशत सर्वसाधारणले मात्र कोरोना खोप लिन पाएकोमा पहुँचवालाहरूले बुस्टर डोज लगाउन शुरू गरिसकेको स्थानीयको आरोप छ। सरकारले स्वास्थ्य र बाँच्न पाउने अधिकार संविधानको मौलिक हकमा दिएपनि सरकारबाटै त्यस अधिकारबाट सर्वसाधारण बञ्चित रहेको अधिवक्ता राजेन्द्रप्रसाद देवले बताए।

देव भने, ‘अधिकांश नागरिकले कोरोना बिरूद्धको पहिलो डोज पाउँन नसकेको बेला पहुँचबालाले बुस्टर डोज समेत लगाई सक्नु भनेको सबै जनताको समानताको हक राज्यबाटै उल्लङ्घन हुनु हो।’ कोरोनाको खोप नलगाएकाहरूलाई कोरोना बिरूद्धको भ्याक्सिन र कोरोनाको भ्याक्सिनको डोज पूरा भइसकेकालाई प्राथमिकताका आधारमा भेदभाव रहित बुस्टर डोज दिन तत्काल आवश्यक रहेको स्थानीयहरू बताउँछन्।

प्रदेश २ मा ३२ दशमलव ७८ प्रतिशत सर्वसाधारणले कोरोना भाईरस बिरूद्धको भ्याक्सिनको डोज पूरा गरेको छ। प्रदेश २ स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक बिजय झाले १८ वर्ष माथिका सबैका लागि खोप आईसकेको र सबैलाई खोप लगाउन शुरू गरिसकेको बताए। उनले भने,’१२ वर्ष माथि उमेरका लागि फाईजर खोप आएपनि खोप सिमित रहेकोले सबैलाई उपलब्ध हुन सकेन्। खोप उपलब्ध भएसँगै बिस्तारै सबैले लगाउन सक्ने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *