कांग्रेस महाधिवेशन : देउवा सुविधाजनक बहुमतमा, नयाँपनको सुरुवात

सम्भव सिंह ठकुरी
५ पुष २०७८ १२:५३

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आइतबार साँझ खुल्ला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजानिक भयो। ३५ खुल्ला केन्द्रीय सदस्यको लागि ९९ जनाको उम्मेद्वारी रहेको थियो। खुला ३५ मा अधिकांश नयाँ नेतृत्व आएपनि सभापति शेरबहादुर देउवा समूहको उम्मेद्वारहरु नै हावी भएका छन्।

महाधिवेशनमा पदाधिकारीपछि खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धानै रोचक र चाखलाग्दो बनेको थियो। ३५ जना आगामी ४ वर्षका लागि निर्वाचित भए भने ६४ जना पार्टीको प्रतिस्पर्धाबाट ४ वर्षनै बाहिरिएका छन्।

देउवा समूहको बर्चश्व, कोइराला समूहको कति निर्वाचित ?

पदाधिकारीदेखि खुला केन्द्रीय सदस्यसम्मको मतपरिणाम सार्वजनि हुँदा देउवा समूह प्रष्ट र सुविधाजनक बहुमतमा पुगेका छन्। १३ जना पदाधिकारीमा ९ जना देउवा समूहका र बाँकी ४ जना डा.शेखर कोइराला समूहका रहेका छन्।

पदाधिकारीमा सभापति देउवा सहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्वे, किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय ‘डिना’ रामकृष्ण यादव, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर देउवा समूहमा रहेका छन्।

यद्यपि देउवा समूहबाट निर्वाचित भएका पदाधिकारीहरुमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहकोपनि साथ रहेको छ। महामन्त्री शर्मा सिंहको प्यानलबाट उम्मेदवारी रहेका थिए। त्यसैगरी सिटौला समूहबाट सहमहामन्त्री उमाकान्त चौधरी रहेका छन्।

त्यस्तै कोइराला समूहबाट पदाधिकारीमा उसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियार रहेका छन्। केन्द्रीय सदस्यमा भने सर्वाधिक ३८३६ मत ल्याएर डा.शशांक कोइराला निर्वाचित भए। तर कोइरालाको भूमीका भने तटस्थ रहेको छ।

उनी सभापतिका उम्मेदवार बनेका सबै समूहमा अटाएका थिए। संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बन्न नसकेपनि कोइराला परिवारबाट दाजु शेखर सभापतिको उम्मेदवार रहँदासमेत उनको भूमिकामा शेखर सन्तुष्ट छैनन्।

खुल्ला केन्द्रीय सदस्यमा को–कुन समूहका ?

३५ खुल्ला केन्द्रीय सदस्यमा २६ जना सदस्यहरु देउवा समूहका निर्वाचित भएका छन्। कोइराला समूबाट ९ जनाको उपस्थिति रहेको छ।

देउवा समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरु एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, डा.गोपाल दहित र कृष्णकिशोर घिमिरे रहेका छन्।

त्यस्तै कोइराला समूहबाट अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, डा.रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, संजयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइरालासहित ९ जना रहेका छन्।

पुरानो भन्दापनि नयाँ नेतृत्व हावी

यो अधिवेशनमा खुला ३५ मा १६ जना नेताले केन्द्रीय सदस्यमा पहिलो पटक प्रवेश गरेका छन्। पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा र रामहरि खतिवडा क्रमशः चौथो र पाँचौं बढी मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन्।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका वर्तमान अध्यक्ष राजीव ढुंगाना २४ नम्वरमा, पूर्वअध्यक्ष नैनसिंह महर क्रमशः ११ औं र १५ औं नम्बरमा भोट ल्याएर पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् ।

त्यस्तै नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले २० औँ नम्बर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले २७ औँ नम्बर,बर्दियाका पूर्व जिल्ला सभापति संजयकुमार गौतम २६ औँ नम्बरमा रहँदै पहिलो पटक केन्द्रीय सदस्यमा अटाएका छन्।

संजय गौतम एमालेका तत्कालीन उपाध्यक्ष बामदेव गौतमलाई २०७४ सालको संघीय निर्वाचनमा पराजित गरेपछि उनको चर्चा चुलिएको थियो। पत्रकार पृष्ठभूमी भएका अजयबावु सिवाकोटीले पनि २९ नम्वरमा भोट ल्याई पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन्।

त्यस्तै अन्य पहिलोपटक प्रवेश गर्नेहरुमा विगतमा ‘डन’को बिवादित छवी बनाएका गणेश लामा,भरतपुर महागरपालिकामा कांग्रेसको तर्फबाट नगरप्रमुखको टिकट पाएका दिनेश कोइराला, ललितपुर जिल्लाका पूर्वसभापति मदनबहादुर आमात्य, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य,कृष्ण किशोर घिमिरे,जिपछिरिङ लामा रहेका छन्।

नेविसंघ र तरुणदल नेतृत्वविहीन

कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगाना र तरुणदलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनीहरु स्वतः पदमुक्त भएका छन्।

कांग्रेसको विधानअनुसार, पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भातृ संघको पदाधिकारी वा सदस्य हुनेछैन। भातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भातृ संघको पद स्वतः रिक्त हुने विधानमा उल्लेख छ।

तत्काीलन नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले २०७६ माघ १६ गते ढुंगानलाई तदर्थ समितिको अध्यक्षको जिम्मेवारी दिएर ६ महिनाभित्र नेविसंघको १२ औँ महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर पार्टीको आन्तरिक गुटबन्दी र नेताका स्वार्थका कारण अधिवेशन हुन सकेको छैन।

जसले मन जिते, मत जित्न सकेनन्

यो अधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवार डा.शेखर कोइराला, महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलदेखि केन्द्रीय सदस्यका दर्जनाैँ  उम्मेदवारले मन जिते मत जित्न सकेनन्।

चर्चामा रहेपनि नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य ३६ औँ नम्बरमा रहँदै केन्द्रीय सदस्यको दौडबाट बाहिरिनु पगे। रोल्पाबाट कांग्रेसको राजनीतिमा उदायका आचार्यको पराजयले सामाजिक संजालमा उनको सहानुभूतीले निकै प्राथमिकता पायो।

तत्कालीन माओवादीले जनआन्दोलनको थालनी गरेको रोल्पाको भूमीबाट कांग्रेसको राजनीति गरेका आचार्यको राजनीति यात्रा निकै कष्टपूर्ण रहेको कांग्रेस वृत्तमा चर्चा हुन्छ। त्यसैलेपनि उनको पराजयले निकै चर्चा पाएको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ कांग्रेसभित्र बौद्धिक नेताको छवी बनाएका नेता लोकेश ढकालका हारलेपनि निकै चर्चा पाएको छ।

तर कांग्रेसको विधानअनुसार सभापतिले निर्वाचनपछि ३३ जना अर्थात् २० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न पाउने प्रावधानपनि रहेकाले पराजित भएपनि देशको राजनीतिलाई प्रभाव पार्नसक्ने नेतालाई सभापति देउवाले मनोनयन गर्ने अपेक्षा राखिएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *