ललिता निवास प्रकरण : मुद्दा चलाउने हदम्याद सकिन लाग्याे, गृहमन्त्रालयकाे बेवास्ता

डिसी नेपाल
८ पुष २०७८ १०:०९

काठमाडौं। बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हडप्नेविरुद्ध किर्ते कसुरमा मुद्दा चलाउने हदम्याद सकिन लागेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले ललिता निवासको जग्गा भोगाधिकारी, भूमाफिया, सरकारी कर्मचारीदेखि राजनीतिक दलका शीर्ष नेतासम्मको संलग्नता किटान गर्दै किर्तो मुद्दा चलाउन गरेको सिफारिसको हदम्याद सकिन लागेको हो।

सिआइबीले मुलुकी अपराध संहिता २०७४ को लिखत (किर्ते) सम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई वर्षअघि यो प्रकरणमा एक सय ७५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिसकेको छ।

आरोपीमध्ये केही अझै अदालतमा उपस्थित नहुँदा सो मुद्दाको प्रारम्भिक सुनुवाइको प्रक्रियासमेत अघि बढ्न सकेको छैन। त्यसपछि सिआइबीले किर्ते प्रकरणमा अनुसन्धान गरेको थियो। आरोपितविरुद्ध आगामी पुस २७ भित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको भएपनि सरकारले उनीहरुविरुद्ध मुद्दा दायर गर्ने वातावरण बनाएको छैन।

अख्तियारले करिब एक वर्ष लामो अनुसन्धानपछि १ सय ७५ जनालाई प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषमा यो मुद्दा अझै विचाराधीन छ तर सरकारको अनिच्छाका कारण सीआईबीले किर्तेमा अभियुक्त पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाउन सकेको छैन।

एक साता अघि प्रहरी महानिरीक्षक शैलेश थापा र सिआइबीका प्रमुख धिरजप्रताप सिंहले गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर यो विषयमा अवगत गराएका थिए। तर गृहमन्त्रीले यो विषयमा चासो नदिएको स्रोतले जनाएको छ।

‘हामीले एक हप्ता अघि नै ललिता निवासको अनुसन्धान र किर्ते मुद्दा बारे अवगत गराएका थियौं तर गृहमन्त्रालयबाट कुनै जवाफ आएको छैन, यही पुस २७ गतेभित्र अदालतमा मुद्दा गइसक्नुपर्छ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने।

अख्तियारले सुरुमा जग्गा नामसारी गर्ने र पछिल्ला धनीलाई मात्र मुद्दा चलाएको थियो। तर सिआइबीले बीचमा जग्गा लिएर बेच्ने, राणा परिवारबाट बकस पाउनेलाई पनि छानबिनमा राखेपछि करिब २२ रोपनी जग्गा त्यतिवेलाका सरकारी कर्मचारीहरूलाई बकस दिइएको खुलेको थियो।

‘सिआइबीले उच्च राजनीतिक नेतृत्वलाई पनि मुद्दा चलाउन सकिने अनुसन्धान प्रतिवेदन तयार पारेको र सो प्रतिवेदन अनुसार तत्कालिन प्रधानमन्त्रीहरु समेत तानिसक्ने भएपछि सो मुद्दामा आलटाल भएको हो’, सिआइबी स्रोतले भन्यो।

सिआईबीले नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित धेरै व्यक्तिहरुलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ। आरोपित पक्राउपछि बयानका क्रममा थप तथ्य र प्रमाण खुलेमा तत्कालीन प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि मुद्दा चलाउन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख भएपछि गृहमन्त्रालयले सो विषयमा चासो नदिएको स्रोतले जनाएको छ।

भट्टराई सरकारी जग्गा नक्कली गुठी र त्यसमा मोही कायम गर्ने मन्त्रिपरिषद्को निर्णयमा र नेपाल प्रधानमन्त्री निवास बिस्तार गर्ने नाममा जग्गा सट्टाभर्ना गर्दा नक्कली मोही कायम गर्ने निर्णयमा संलग्न भएको उल्लेख छ। दुवै पूर्वप्रधानमन्त्री वर्तमान सत्ता गठबन्धनका दलका शीर्ष नेताहरु हुन्।

पूर्वसचिव शारदाप्रसाद त्रितालको छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा २०७५ माघ २८ को मन्त्रिपरिषद बैठकले जग्गा हडप्नेमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीलाई पत्राचार गरेको थियो।

अख्तियारले करिब एक वर्ष लामो अनुसन्धानपछि १ सय ७५ जनालाई प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषमा यो मुद्दा अझै विचाराधीन छ तर सरकारको अनिच्छाका कारण सीआईबीले किर्तेमा अभियुक्त पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाउन सकेको छैन।

‘सआइबीको अनुसन्धानमा धेरै मानिसहरु कारवाहीको सूचीमा छन् उनीहरुलाई मुद्धा चलाउन राजनीतिमा तरंग पैदा हुने भएकाले पनि आलटाल गरिएको हो’, प्रहरी स्रोतले भन्यो। तर सिआइबीका प्रवक्ता श्यामकुमार महत्तोले भने हदम्यादभित्रै ललिता निवासको जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरुको मुद्धा अदालतमा बुझाइने बताउँछन्।

‘हामी हदम्याद भित्रै ललिता निवासको किर्ते मुद्धा अदालतमा बुझाउनेछौं’, प्रवक्ता महताेले भने। लिखत किर्ते मुद्दाको हदम्याद दुई वर्ष हुन्छ। जुन हदम्याद आगामी २७ पुससम्म रहेकाले त्यसभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ। सीआईबी स्रोतका अनुसार सो प्रकरणमा १ सय २६ रोपनी ३ आना २ पैसा १ दाम जग्गा सरकारमा नाममा फिर्ता ल्याई जग्गा किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

किर्तेमा हदम्याद सकिन लाग्द प्रहरी भने त्यसका आरोपीलाई पक्राउ गर्न सक्रिय देखिएको छ। बुधबार मात्रै ललितानिवास जग्गा प्रकरणका मुख्य नाइके रामप्रसाद सुवेदीलाई सिआइबीले पक्राउ गरेको थियो।

भ्रष्टाचार मुद्दासमेत खेपेर अदालतमा उपस्थित नभई फरार रहेका सुवेदी ताहाचलस्थित घरमै बस्दै आएको भएपनि अहिलेसम्म पक्राउ पर्न सकेका थिएनन्। बुधबार कमलादी आएका वेला उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनकी श्रीमती माधवी सुवेदीलाई पनि सिआइबीले पक्राउ गर्‍याे।

प्रधानमन्त्रीको सरकारी निवाससँगैको जग्गालाई सुवेदी र उनका साथी शोभाकान्त ढकालसँग मिली पटकपटक गरेर व्यक्तिको नाममा लगेका थिए। ढकाल भने भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। हाल ढकाल मात्रै थुनामा रहेका छन्। अन्य आरोपीहरु धरौटीमा रिहा भैसकेका छन् भने केहीको मृत्यु भैसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *