भारतबाट नेपाल फर्किनेकाे संख्या बढेसँगै कञ्चनपुरमा कोरोना सङ्क्रमित बढे

डिसी नेपाल
२१ पुष २०७८ ११:१८

कञ्चनपुर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ। मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा सङ्क्रमण देखिएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ।

कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन्। बाँकी सबै होमआइसोलेशनमा छन् । यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ। हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ। हालसम्म आठ हजार ८२३ जना निको भएका छन्।

हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हँुदै नेपाल भित्रिएका यात्रुको सङ्ख्या ४८२ रहेको छ। भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन्। नेपालबाट भारततर्फ जानेको सङ्ख्या ४३५ रहेको छ। सोही अवधिमा सीमानाका त्रिनगर हँुदै नेपाल फर्किएका यात्रुको सङ्ख्या ३०९ तथा भारततर्फ जानेको सङ्ख्या २५९ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *