साउदीले लण्डनभन्दा १७ गुणा ठूलो अनौठो सहर बनाउँदै, आफ्नै चन्द्रमा हुनेछ, गाडीहरु उड्नेछन्

डिसी नेपाल
२२ पुष २०७८ १३:३९

काठमाडौं। सहरमा घुमिरहेका रोबोट र हावामा उडिरहेका गाडीहरु अब फिल्ममा मात्र देखिने कुरा रहेन । साउदी अरेबियाले यस्तै साइ–फाइ सहर बनाउँदैछ जहाँ रोबोटले मानिसको सुरक्षादेखि लिदएर सेवा समेत गर्नेछन् । कार हावामा उड्नेछन्, कृत्रिम बादलले पानी पार्नेछन् । यो सहरमा कृत्रिम चन्द्रमा पनि हुनेछ जो हरेक रात उदाउनेछ । ५०० अर्ब डलरको लागतमा बन्ने यो सहर लण्डनभन्दा १७ गुणा ठूलो हुनेछ ।

साउदी अरेबियाको ताबुक राज्यमा यो सहर बसाइनेछ । यो सहरको नाम नियोम हो । जुन कम्पनीले यो प्रस्तावित सहरलाई किनेको छ र यसलाई बनाउने जिम्मा लिएको छ त्यो कम्पनीका योजना यति महत्वाकांक्षी छन् कि सहरमा प्रयोग हुने कैयौं प्रविधि अहिलेसम्म अस्तित्वमै छैनन् । बेलायतको अखबार द सनको एक रिपोर्टअनुसार नियोम सहर जोर्डन र मिस्रको सीमा नजिकै हुनेछ । यो सहर अबको ३ वर्षपछि २०२५ सम्म मानिसहरु बस्नको लागि बनेर तयार हुनेछ ।

नियोम आफ्नो किसिमको पहिलो सहर हुनेछ जसलाई सौर्य ऊर्जा र वायु ऊर्जाबाट संचालन गरिनेछ । नियोमका अध्यक्ष साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका अनुसार यो सहर ड्रोन फ्रेण्डली र रोबोटिक्सको विकासको लागि एक केन्द्र बनेर उदाउनेछ । सहरको पूर्वयोजनाका दस्तावेजका अनुसार सहरमा उड्ने ट्याक्सी हुनेछन् । यी ट्याक्सी ठिक त्यस्तै हुनेछन् जस्तो ‘ब्लेड रनर’ र ‘ब्याक टु द फ्युचर २’ फिल्ममा देखाइएका थिए । साउदी अरेबियामा वर्षा हुँदैन तर क्लाउड सिडिङ प्रविधिको प्रयोग गरेर नियोममा बादल बनाइनेछन् र वर्षा पनि हुनेछ ।

सहरका लागि अरु पनि केही विचित्र प्रस्ताव गरिएका छन् । यहाँ जुरासिक पार्क शैलीमा डयनोसोर रोबोट पनि बनाइनेछ । रोबोट मार्शल आर्ट पनि बनाइनेछ जहाँ रोबोट मनोरञ्जनका लागि एक अर्कासँग लड्नेछन् । साउदी अरेबिया यो महत्वाकांक्षी परियोजनाद्वारा आफ्ना प्रतिद्वन्द्वी खाडी देशहरु युएइ र कतारभन्दा अगाडि जान चाहन्छ । उसले नियोमलाई विश्वका प्रतिभाशाली र सर्वश्रेष्ठ व्यवसायीहरुलाई आकर्षित गरेर प्रमुख वाणिज्य केन्द्र बनाउन चाहन्छ । योजना दस्तावेजमा उल्लेख भएअनुसार रोबोटले यी विदेशी व्यवसायीको घरको काम गर्नेछन् ।

साउदी अरब नियोममा एक कृत्रिम चन्द्रमा पनि बनाउन चाहन्छ जो यो परियोजनामा माइलस्टोन साबित हुन सक्छ । क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हालै आफूले सहरको प्रस्तावित सिल्भर बीच चन्द्रमाको प्रकाशमा जगमगाओस् भन्ने चाहेको बताएका थिए । यद्यपि यो कुन प्रविधिबाट गरिन्छ भन्ने विषयमा अझै प्रस्ट छैन । परियोजनाका निकट सूत्रले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै नियोममा सुरक्षित तरिकाले कृत्रिम चन्द्रमा बनाउने विषयमा इन्जिनियरहरुले अहिलेसम्म कुनै तरिका फेला नपारेको बताएको छ ।

साउदीले रियादमा फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ सम्मेलन २०१७ मा नियोम निर्माणको घोषणा गरेको थियो । कार्यक्रममा बोल्दै रोबोटिक्स फर्म बोस्टन डायनेमिक्सका सीइओ मार्क रोयबर्टले महानगरहरुमा रोबोटलाई सुरक्षाको लागि पनि उपयोग गर्न सकिने बताएका थिए । उनले रोबोटहरुले धेरै काम गर्न सक्ने बताउँदै सुरक्षा, लोजिस्टिक्स, होम डेलिभरी, बुद्ध र कमजोरको हेरचाहका काम रोबोटले गर्न सक्ने बताएका थिए ।

महत्वाकांक्षी महानगर नियोमको निर्माण हजारौं श्रमिकहरुले गरिरहेका छन् । यी श्रमिकहरुलाई कथित रुपमा खराब परिस्थितिमा राखिएको छ । ६ जना श्रमिकलाई सुत्नको लागि केवल १ कोठा दिइएको बताइएको छ । मानवअधिकार कार्यकताृहरुले पश्चिमी देशहरुमा साउदीको खराब मानवअधिकार रेकर्डका कारण यो परियोजनालाई बहिष्कार गर्न आह्वान गरेका छन् । इस्तानबुलमा वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको २०१८ मा हत्या भएपछि मानवअधिकार कार्यकर्ताको यो माग तीब्र भएको छ ।

रिपोर्टका अनुसार नियोम सहर बसाउनको लागि त्यहाँका आदिवासीहरुलाई जबरजस्ती हटाइएको छ । हुवैतेत जनजातिकी एलिया अल्हवेती पनि नियोम परियोजनाका कारण विस्थापित भएकी हुन् । उनले भनिन् ‘यो पूरै विपत्तिको स्थितिजस्तै छ र म निराश छु ।’ एलियाका भाइ अब्दुलरहीम अल हुवैतीले गत वर्ष यही परियोजनाका कारण ज्यान गुमाएका थिए । उनको घर भत्काइँदै गर्दा उनले घर बचाउने निकै कोसिस गरे र अन्ततः मारिए । एलिया अहिले बेलायतमा बस्छिन् । उनले मानवअधिकार हननको विषयमा पश्चिमी देशहरुको आलोचना गर्दै उनीहरुले पनि यो परियोजना रोक्ने कोसिस नगरेको आरोप लगाएकी छिन् ।

साउदीले नियोममा मदिराको अनुमति दिन अस्वीकार गरेको छैन । साउदी जस्तो रुढीवादी मुस्लिम देशको लागि यो कदम ऐतिहासिक हुनेछ । साउदीमा अहिले मदिरामा पूर्ण रुपमा प्रतिबन्ध छ । नियोम साउदीको तेलमा निर्भर अर्थव्यवस्थामा विविधता ल्याउन प्रिन्स सलमानको भिजन २०३० को हिस्सा हो । नियोमको आफ्नो कानुन हुनेछ जसलाई अहिले तयार गरिँदैछ ।

नियोमको टेक र डिजिटल होल्डिङ कम्पनीका सीइओ जोसेफ ब्रेडलीले नयाँ कानुन अनुसार मदिराको अनुमति दिइन्छ वा दिइँदैन भन्ने पुष्टि गरेका छैनन् । तर, उनले विदेशी प्रतिभा र पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकतालाई जो कोहीले बुझेको बताएका छन् । उनका अनुसार एक देखि २ वर्षमा नियोमको कानुनले मन्जुरी पाउनेछ । २०१७ मा क्राउन प्रिन्स बनेपछि प्रिन्स सलमानले धेरै सुधार गरेका छन् । यहाँ महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध हटाइएको छ । प्रिन्स सलमानले धार्मिक हस्तीहरुको शक्तिमा पनि अंकुश लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *