भारतीय रक्षामन्त्री कोरोना संक्रमित भएपछि चीनको सरकारी मिडियाको यस्तो टिप्पणी

डिसी नेपाल
२७ पुष २०७८ १२:४९
388
Shares

काठमाडौं। भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोना संक्रमित भएका छन् । रक्षा मन्त्री सिंहले सोमबार ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको जानकारी दिएका थिए । उनले आफ्नो ट्वीटमा लेखेका थिए ‘हल्का लक्षणका साथ आज म कोरोना संक्रमित पाइएको छु । म होम क्वारेन्टाइनमा छु । हालका लिनमा मेरो सम्पर्कमा आएका व्यक्तिहरुले आफूलाई आइसोलेट गर्नुहोला र आफ्नो कोभिड परीक्षण गराउनुहोला ।’

राजनाथ सिंह कोरोना संक्रमित पाइएपछि चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अखबार ग्लोबल टाइम्सले यसबाट सीमामा तैनाथ भारतीय सैनिकमाथि मनोवैज्ञानिक दबाब बढ्ने बताएको छ । एक विशेषज्ञले ग्लोबल टाइम्ससँग भनेका छन् ‘यति उच्च स्तरका अधिकारी कोरोना संक्रमित हुनुले यो बताउँछ कि कोरोनाले भारतीय सैनिकहरुमाथि निकै नराम्रो असर पारेको छ ।’

सिंघुआ विश्वविद्यालयमा राष्ट्रिय रणनीति संस्थानको अनुसन्धान विभागका निर्देशक कियान फेंगले भनेका छन् ‘यस्ता उच्च स्तरीय अधिकारी संक्रमित हुनुले यो संकेत दिन्छ कि कोभिड १९ महामारीको नयाँ लहरले भारतीय जनताको साथसाथै सैनिकहरुमाथि पनि भारी प्रभाव पारेको छ । भाइरस फैलिनबाट बच्नको लागि कम सैनिकहरुको तैनाथी हुनेछ जसबाट सीमामा तैनाथ सैनिकहरुमाथि मनोवैज्ञानिक दबाब पर्नेछ ।’

राजनाथ सिंह संक्रमित भएको खबर चीन र भारतको १४ औं चरणको सैन्य वार्ताको २ दिन पहिले आएको छ । यो वार्ता भोलि बुधबार सुरु हुँदैछ । भारत चीन सीमा विवादका विषयमा यसअघि भएका कमाण्डर तहको वार्ता निष्कर्षविहीन रहे । विवाद सुल्झाउनको लागि मोल्दो चुशुल बोर्डर मिटिङ प्वाइन्टमा दुई देशबीच फेरि वार्ता सुरु हुँदैछ ।

टाइम्सले लेखेको छ ‘भारतका शीर्ष सरकारी सूत्रका अनुसार ६० हजार भारतीय सैनिक पूर्वी लद्दाखको हिउँले ढाकिएका पहाडमा आफ्नो दोस्रो जाडो बिताउँदैछन् । सूत्रले भनेको छ कि जमिनमा स्थिति अनिश्चित छ र जे पनि हुन सक्छ ।’ कियान फेंगले अखबारसँग भनेका छन् ‘आवश्यकता सावधानीका बावजुद पनि भारतीय सेनामा संक्रमण दर अधिक हुनेछ किनकि सबै स्तरका सैन्य अधिकारीहरुलाई आइसोलेट गरिएको छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *