थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो
धनगढी। पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ। १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ। माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ। माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ।
घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन्। थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ। १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएकाे छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, याे वर्ष काेभिड संक्रमणका कारण मेलाकाे राैनक छैन ।
खानपिन संस्कृति
माघीमा बंगुरकाे , माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।
थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।
भल्मन्सा, गुरुवा चयन गरिँदै
थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खाेप कार्यक्रम लगायतकाे जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साकाे राेहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।
माघीकाे दोस्राे दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment