मोरङ घट्नासँग जोडिएका अर्का व्यक्तिको शव ललिपुरबाट बरामद
सांकेतिक तस्वीर
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित बोर्डिङ टोल नजिकै उखुबारीभित्र फेला परेका दुई वटा शवको पहिचान खुलेपनि त्यहाँबाट हराएका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा र मोरङबाट काठमाडौं आएको टोलीले ललितपुरको धापाखेलमा शव फेला पारेको हो । प्रहरीका अनुसार सो शव पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको भएको प्रहरीले दाबी गरेको छ । ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए ।
प्रहरीले पक्राउ गरेका अनिलकुमार मण्डलले दिएको बयानको आधार प्रहरीले आज सो शव बरामद गरेको हो । उनीहरुको कसले हत्या गरेको हो भन्ने बारेमा केही खुलेको छैन । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित बोर्डिङ टोल नजिकै उखुबारीभित्र खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शव राजेन्द्रकुमार श्रेष्ठ र उनकै साथी शम्भु चौधरीको भएको खुलेपनि प्रहरीले उनीहरुको हत्या के कारणले कसले गरेको हो भन्ने बारेका केही बताएको छैन । ‘मोरङबाट हराएका अर्का व्यक्तिको शव आज फेला परेको छ हामी अझै अनुसन्धान गर्दैछौ’, मोरङ प्रहरीले भन्यो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले सो विषयमा अनुसन्धान भैरहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौ, केही दिनमै अनुसन्धान पूरा हुनेछ’, एसपी जीसीले भने । प्रहरीका अनुसार दुवै जना व्यापारिक साझेदार हुन् ।
साझेदार भएकै कारण उनीहरु एक साथ हिड्ने गर्थे । उनीहरु हाइड्रो कम्पनी र सिमेन्ट उद्योग खोल्ने तयारी गर्दै गरेको अवस्थामा दुवै जनाको मृत भेटिएका हुन् । प्रहरीले भने उनीहरुको शव गाडिएको अवस्थामा फेला परेकाले हत्या गरिएको हुनसक्ने आशंका गरेको छ । त्यही अनुसार मोरङ प्रहरीको एउटा टोली काठमाडौ आएको थियो ।
उनीहरुले काठमाडौंमा केही आशंकित मान्छेहरु फेला पारेका थिए । मोरङका डीएसपी मन्जिल मुकारुङको टोली काठमाडौंमा रहेको र सो टोलीले हत्या आरोपमा केही व्यक्तिहरुलाई पक्राउ गरेको भनिएपनि प्रहरीले त्यसलाई गोप्य राखेको छ ।
‘डिएसपी मुकारुङको टोलीले काठमाडौबाट अनुसन्धानका लागि नियन्त्रणका केही व्यक्तिलाई मोरङ ल्याउन तयारी छ ’, मोरङ प्रहरी स्रोतले भन्यो । तर सो विषयमा एसपी जीसीले केही बताएका छैनन् । सप्तरी शम्भुनाथ गाउँपालिका–४ का चौधरी पेसाले ठेकेदार रहेको र श्रेष्ठसँग लामो समयदेखि साथी रहेको उनीहरु सँगै हिडडुल गर्ने गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार श्रेष्ठ सुन व्यापारसँगै पछिल्लो समय जग्गाको कारोबारमा पनि लागेका थिए । श्रेष्ठले प्लटिङ गर्ने र चौधरीले घर बनाउन ठेक्का लिने गरेका थिए । श्रेष्ठ र चौधरी दुवैको शव खाल्डोमा पुरेका अवस्थामा फेला परेको थियो । गत बुधबार उखु काट्न पुगेका किसानले उनीहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुसँगै हराएका अर्का व्यक्ति लिम्बूको शवलाई बरामद गरेपछि प्रहरीले यसबारे जानकारी गराउने तयारी गरेको छ ।







डिसी नेपाल








Facebook Comment