अमेरिकाको शवगृहमा नेपालीको शव, आफन्त खोज्न दूतावासलाई पत्र

डिसी नेपाल
२३ माघ २०७८ १०:५१

वासिंगटन डिसी। अमेरिकाको कोलोराडोस्थित एक शवगृह (मुर्दाघर)  मा नेपाली नागरिकको शव रहेको र उनी मृत फेला परेको भन्दै पहिचानका लागि एकजना अनुसन्धानकर्ताले नेपाली राजदूतावासलाई पत्र लेखेको छ।

नेपालका राजेन्द्र कार्की नाम गरेका व्यक्ति मृत भएको भएको भन्दै उनका नजिकका आफन्त, नातेदार वा सम्बन्धित व्यक्तिको खोजी गरी शव गृहको सम्पर्कमा ल्याइदिन दूतावासमा पत्र लेखेको लेखिएको हो।

वासिंगटन डिसीस्थित नेपाली दूतावासका अनुसार,आरापाहो काउन्टी, कोलोराडोका कोरनर्स अफिसबाट डेथ इन्भेस्टिगेटर केली वारेनले एक पत्र पठाई राजेन्द्र कार्की भन्ने व्यक्तिको मृत्यु भएको र उनका निकटतम व्यक्तिहरु सम्पर्कमा नआएको, नभेटिएकोले आवश्यक सम्पर्कका लागि पहल गरिदिन भनेका छन्। कोरनर्स अफिसका डेथ इन्भेष्टिगेरले मृत्युसम्बन्धी कारण पत्ता लगाउने गर्दछन्।

इन्भेष्टिगेटरबाट आएको पत्रअनुसार नेपाली दूतावासले गैरआवासीय नेपाली संघ तथा अन्य नेपाली संघ संस्थालाई आवश्यक पहल गर्न आग्रह गरेको छ। सो पत्रअनुसार, मृतक व्यक्तिको नाम राजेन्द्र कार्की र उनको जन्म मिति अगष्ट २५, १९६८ हो। उनको साथमा रहेको पासपोर्टको नम्बर ०५६३८२१८ रहेको छ।

उनको नेपालमा परिवार र आफन्तहरु पत्ता लागेपछि अन्तिम संस्कार कसरी गर्ने भन्ने तय हुन सक्ने र दूतावासले परराष्ट मन्त्रालयले लिखितरुपमा अनुमति दिएमा अमेरिकाबाट शवलाई नेपाल पठाउन वा अन्तिम संस्कारका लागि शव गृहलाई पत्र लेख्ने दूतावासका एक कर्मचारीले डिसी नेपाललाई बताए।  त्यत्तिन्जेलसम्म उनको शव सोही शव गृहमा रहने पनि उनले बताए।

कार्कीका शव कोलोराडो राज्यको अरौरा भन्ने स्थानमा फेला परेको पत्रमा उल्लेख भएको तर के कस्तो अवस्थामा पाइएको हो र मृत्यु कसरी भएको हो भन्नेबारे कुनै विवरण नखुलेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *