रूस-युक्रेन युद्धका कारण यसरी संकटमा फस्दैछ चीन

डिसी नेपाल
१७ फागुन २०७८ १४:२३

बेइजिङ (बीबीसी) । रुसले युक्रेनमाथि धावा बोलेको विषयबारे चीनको नियन्त्रित अनलाइन माध्यममा मिश्रित प्रतिक्रिया देखिएको छ।

सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “अद्भुत व्यक्ति” भन्दै प्रशंसा गरेका छन्।

उनीहरूले पुटिनको कदमलाई विश्वमा अमेरिकी प्रभावलाई प्रत्युत्तर दिने कदमको रूपमा लिइरहेका छन्।

“म रुसलाई समर्थन गर्छु, अमेरिकाको विरोध गर्छु। मैले भन्न चाहेको यति हो”, एक टिप्पणीकर्ताले भनेका छन्।

“अमेरिका विश्वमा सधैँ अस्तव्यस्तता निम्त्याउन चाहन्छ,” अर्का व्यक्तिले लेखेका छन्।

यद्यपि कडा सेन्सरशिप हुँदाहुँदै कतिपय यस्ता आलोचक पनि छन् जसले आफ्ना फरक आवाज राखिरहेका छन्।

साप्ताहान्तसम्ममा पाँच प्रख्यात चिनियाँ प्राज्ञहरूले एउटा खुलापत्र लेख्दै युक्रेनमाथि रुसी कदमको निन्दा गरेका छन्।

“यो एउटा अतिक्रमण हो। एउटा चिनियाँ भनाइ छः तपाईँ मृगलाई घोडा भन्न सक्नुहुन्न,” चिनियाँ इतिहासविद्‌ सु गुओकीले भनेका छन्।

प्रेषित भएको केही घण्टापछि उक्त खुलापत्र हटाइएको थियो।

रुससम्बन्धी कतिवटा आलोचनात्मक पोस्ट सेन्सर गरिएका छन् र अमेरिकाको आलोचना गरिएका कतिवटा पोस्ट प्रवर्धन गरिएका छन् भन्ने कुरा स्पष्ट नभएकोले चीनमा कति मानिस साँच्चिकै शान्तिका लागि आह्वान गरिरहेका छन् भन्ने कुरा बुझ्न गाह्रो छ।

पुटिनले युक्रेनमाथि सैन्य कारबाही घोषणा गर्नुभन्दा केही घण्टाअघि अमेरिकाले चीन र रुस मिलेर एउटा “एकदमै अनुदार” विश्व व्यवस्था सिर्जना गर्न लागेको आरोप लगाएको थियो।

युक्रेन सङ्कटले चीनका लागि विभिन्न मोर्चामा एउटा ठूलो चुनौती उत्पन्न गराएको छ।

चीनमा आयोजित ग्रीष्मकालीन ओलिम्पिक्समा सहभागी हुन गएका विश्वका सीमित प्रमुख नेतामध्ये रुसी राष्ट्रपति पुटिन पनि थिए। त्यसले चीन र रुसबीच निकट कूटनीतिक सम्बन्ध भएको देखाउँछ।

युक्रेनबाट भिन्न भएका दुईवटा क्षेत्रलाई मान्यता दिन तथा त्यहाँ सेना पठाउन पुटिनले ग्रीष्मकालीन ओलिम्पिक्स समापन होउन्जेल कुरे।

सार्वजनिक विज्ञप्तिमा चीनले युक्रेनमा तनाव मत्थर पार्न सबै पक्षलाई आह्वान गर्ने गरेको छ।

तर रुस संयमित हुन नखोजेकाले सङ्घर्ष चर्किएको बेला चीन सरकारको धारणा के हो त?

चीन सरकार आफूले युरोपमा युद्धलाई समर्थन गरेको देखिन चाहँदैन तर मस्कोसँग सैन्य र रणनीतिक सम्बन्ध सुदृढ पार्न चाहन्छ।

चीन युक्रेनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। ऊ किएभसँग पनि राम्रो सम्बन्ध कायम राख्न चाहन्छ। तर युक्रेनमा सेना पठाउने सरकारसँग स्पष्ट रूपमा निकट सम्बन्ध राखेको देखिएकाले उसो चाहना दीर्घकालसम्म कायम नरहन सक्छ।

रुसी आक्रमणलाई समर्थन गरे जस्तो देखिए उसले पश्चिमी युरोपका देशबाट व्यापारिक धक्का बेहोर्नुपर्ने सम्भावना पनि छ।

चीनका नेताहरूले बारम्बार आफूहरू अरू देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने तथा अरू देशले पनि आफ्नोमा गर्नु नहुने भन्दै आएका छन्।

तर गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा युक्रेनमाथि गरिएको आक्रमणको निन्दा गर्न आयोजित मतदानमा चीन अनुपस्थित रह्यो।

केही विश्लेषकहरूले चीनले उक्त प्रस्तावविरुद्ध रुससँगै उभिएर मतदान गर्ने आकलन गरेका थिए। तर त्यसो नगर्नुलाई “पश्चिमका लागि विजय” का रूपमा वर्णन गरिएको छ तथा यसलाई बेइजिङको “अहस्तक्षेप” को सङ्केत मानिएको छ।

यद्यपि चीनले युक्रेनमा भएको आक्रमणको निन्दा गरेको छैन। विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनमा भएको घटनालाई “आक्रमण” भन्न पनि अस्वीकार गरेका छन्।

न्यूयोर्क टाइम्सले नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै विगतका महिनाहरूमा चीनलाई हस्तक्षेप गर्न तथा रुसलाई युक्रेनमा आक्रमण नगर्न भन्न अमेरिकाले बारम्बार आग्रह गरेको बताएको छ।

अमेरिकाले झगडा पार्न खोजेको तर आफूले रुसी योजनामा अवरोध नगर्ने भन्दै पछि चीनले मस्कोलाई उक्त जानकारी रुसलाई दिएको थाहा भएको उक्त विवरणमा उल्लेख छ।

चिनियाँ कम्युनिस्ट पार्टीका लागि युक्रेन सङ्कटबाट आफ्ना देशका नागरिक र विश्व हेर्ने उनीहरूको दृष्टिकोणमा कस्तो प्रभाव पर्छ बन्ने चिन्ता छ।

त्यसैले उसले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा युक्रेनको अवस्थाबारे हुने चर्चालाई प्रभावित तथा नियन्त्रित गर्न खोजेको छ।

यो विवादमा ताइवानलाई मुछियो। छुट्टै सरकार भएको उक्त टापु चीनको विद्रोही प्रान्त भएको र मुख्यभूमिसँग एकीकरण गर्नुपर्ने चिनियाँ कम्युनिस्ट पार्टीको मान्यता छ।

चिनियाँ सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रवादीहरूले रुसले युक्रेनमा गरे जस्तै चीनले ताइवानमा आक्रमण गरेर फिर्ता ल्याउनुपर्ने टिप्पणी गरेका छन्।

रुसविरुद्ध प्रतिबन्ध लगाउन अस्वीकार गरेको चीनले रक्तपात र ठूलो खर्च हुनेगरी बलपूर्वक ताइवान नियन्त्रणमा लिन खोजे आफूले पनि त्यस्तै अवस्था भोग्नुपर्ने कुरा बुझेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले एउटा प्रेस ब्रीफिङमा चीनले समस्या समाधान गर्न प्रतिबन्धलाई कहिल्यै उपयुक्त उपाय नमानेको बताएकी थिइन्।

तर यदि चिनियाँ नागरिकहरूले युक्रेनमा आक्रमण गर्न उचित देखाउन रुसले गरेको तर्कलाई पछ्याएर आफ्नो देशमा पनि उपयोग गर्न थाले भने त्यसले चीन सरकारको वर्तमान सीमाबारेको व्याख्या समाप्त हुनसक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *