एमसीसी विरोधीहरुको नयाँ पार्टी निर्माणको संभावना कति?

डिसी नेपाल
१९ फागुन २०७८ ७:२६

काठमाडौं। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै नेपालको राजनीतिमा फेरि अर्को बहस र नयाँ तरंग छाएको छ। सत्तारुढ गठबन्धनभित्रै तिब्र विवाद र पार्टी बिभाजनका संकेतहरु सतहमा आइरहेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ। एमसीसी बिराधीहरुको नयाँ पार्टी खोल्नेसम्मको तयारी रहेको कतिपय पार्टीका नेताहरुले बताउन थालेका छन्।

माओवादी भित्रको विवाद उक्त पार्टीका अध्यक्षको अभिव्यक्ति र त्यसको काउन्टरमा अर्का नेता नारायणकाजी श्रेष्ठले नयाँ कदम चाल्ने सुइँको पाएसँगै प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेर फकाउनुले आन्तरिक विवाद विभाजनको सन्निकट पुगेको अनुमान लगाउन सकिन्छ।

प्रचण्डले श्रेष्ठलाई कुनै कदम नचाल्न आग्रह समेत गरेका थिए। जवाफमा श्रेष्ठले आफु बाहिरिन नखोजेको तर तपाईंको आसय नै पार्टीमा नबसोस् भन्ने रहेको भन्दै प्रचण्डप्रति तिक्तताव्यक्त गरेका छन्।

प्रचण्डले श्रेष्ठप्रति लक्षित गर्दै पार्टी छाडेर जानेका लागि बाटो खुला भएको सार्वजनिक अभिव्यक्तिले माओवादीभित्र श्रेष्ठ समूह चिढिएको हो। आगामी २० गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकमा आफ्ना धारणा र अध्यक्षको अभिव्यक्तिको अन्तर्य खुलासा गर्न आग्रह गर्ने र त्यसका आधारमा यथोचित निर्णय लिने तयारीमा श्रेष्ठ समूह रहेको छ।

माओवादीले एमसीसी ब्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै श्रेष्ठनिकट पूर्व एकता केन्द्र समूह र पूर्व सभामुख कृष्णबहादुर महराले बिरोध गरेका थिए। श्रेष्ठले उक्त निर्णयप्रति असहमति राख्दै स्वाभिमानी नेपालीहरुको लागि कालो दिन भएको बताएका थिए भने महराले पनि पार्टी निर्णयमा असहमति राखेका थिए।

माओवादी नेता महरा, जयपुरी घर्ती र यशोदा सुबेदी गुरुङ लगायत सांसदहरु एमसीसी पारित गर्न नहुने पक्षमा थिए। उनीहरुले पार्टीको एमसीसी पारित गर्ने निर्णयमा असहमति राखेका हुन्। पूर्व एकता केन्द्र निकट सांसद गिरिराजमणि पोख्रेल र अञ्जना विशंखेले बिपक्षमा मत जाहेर गरेका थिए।

माओवादीको एउटा समूह, एमाले र एकीकृत समाजवादीका केही नेता र बामदेव गौतमसहितको नयाँ पार्टी बन्ने संभावना छ।

माओवादी केन्द्रको बिबाद र प्रचण्डसँग मतभेद भएसँगै नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लब श्रेष्ठलाई भेट्न उनकै निबास पुगेका थिए। बिप्लवले प्रचण्डको नेतृत्वबाट क्रान्ति नहुने भन्दै एमसीसी बिरोधिहरु एक हुन श्रेष्ठलाई आग्रह गरेका छन्।

उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमाथिको ब्याख्यात्मक टिप्पणीप्रति असहमति जनाउँदै आएका छन्। उनले ब्याख्यात्मक टिप्पणीलाई नेपाली जनतालाई थाङ्नामा सुताउने झुटको पुलिन्दा भएको संज्ञा दिएका छन्।

मंगलबार एकीकृत समाजवादीले आयोजना गरेको एमसीसीलाई पार्टीको सर्मथन र ब्याख्यात्मक टिप्पणीबारे उठेका बिषयलाई स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमासमेत उनको सहभागिता थिएन। खनाल एमसीसी कुनै हालतमा पारित नगर्ने पूर्वबत् अडानमा यथावत थिए।

तत्कालीन नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतम पनि एमसीसी पारित गर्ने निर्णयको बिपक्षमा रहेका छन्। उनले बारम्बार विज्ञप्तिमार्फत एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गर्दै आएका थिए।

एमालेका नेता भिम रावल एमसीसीका कट्टर बिरोधीका रुपमा परिचित छन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमसीसी र पार्टी हित बिपरितका गतिबिधि गर्दै हिरो बन्न खोजेको आरोप लगाएका छन्।

अब नेपालको राजनीतिमा एमसीसी बिरोधीहरुको नयाँ शक्ति बन्ने संभावना प्रवल रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। माओवादीको एउटा समूह, एमाले र एकीकृत समाजवादीका केही नेता र बामदेव गौतमसहितको नयाँ पार्टी बन्ने उनीहरुको अनुमान छ।

यस बिषयमामा ओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पार्टी भित्रको विवादले बिभाजनकै रुप लिन थालेको विषयलाई अस्वीकार गर्छन्।  पार्टीभित्र असहमति रहेको तर पार्टी बिभाजनकै स्थितिमा नरहेको उनले डिसी नेपाललाई बताए।

‘मेरो असहमति मात्रै हो। त्यो बाहेक अरु केही होइन, मिडियामा आएका कुरा सत्य होइनन्,’ उनले भने, ‘मेरो असहमति पार्टीको फोरममा राख्ने छु। तर त्यो बाहेक अरु मेरो हकमा केही छैन।’ महराले आफू पार्टीमा रहने र अन्य असन्तुष्टी नरहेको प्रष्ट पारे।

नारायणकाजी श्रेष्ठको बिषयमा पनि बाहिर आएजस्तो धेरै तिक्तता नभएको उनले जिकिर गरे। केही मतभेद मात्र रहेको त्यसलाई पार्टी बैठकबाट हल गरिने उनको भनाइ थियो। एमसीसी बिरोधीहरुको नयाँ पार्टी बन्ने संभावना कति छ? भन्ने प्रश्नमा मिडियामै आएको आधारमा त्यस्तो संभावना आफ्नो हकमा नभएको जिकिर गरे।

उनले भने, ‘म पार्टी मै छु केही असहमति भएको साचो हो तर त्यो बिषयमा अहिले कुनै सोच छैन।’ उनका अनुसार पार्टीमा नारायणकाजी निकट समूहबाहेक अरुमा असन्तुष्टी रहेको छैन।

माओवादी नेतृ जयपुरी घर्तीले आफूहरु पार्टी निर्णयको पक्षमा रहेको प्रष्टोक्ती दिएकी छिन्। उनले पार्टीको आधिकारिक निर्णय ब्याख्यात्मक टिप्पणीमा आफ्नो पूर्ण सर्मथन रहेको डिसी नेपाललाई बताइन्।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शंकर भण्डारीले एमसीसी बिरोधीहरुको नयाँ पार्टी बन्नुपर्ने आवश्यकता भएको स्वीकार गरे तर तत्काल त्यो संभावना नरहेको जिकिर गर्छन्। उनका अनुसार कुनै पनि नेताले आफ्नो पार्टीको बिरासत त्याग गर्ने साहस नभएकाले त्यो संभावना छैन्।

उनले भने, ‘अहिलेको आबश्यकता एमसीसी बिरोधीहरुको छुट्टै पार्टी त्यो नभएपनि मोर्चासम्म भएपनि आवश्यक हो। तर नेताहरुको आफ्नो स्वार्थ र पार्टीगत लिगेसी छोड्न नचाहनुले त्यो संभावना तत्काल देखिँदैन।’

बामदेव गौतमको सचिवालयले नयाँ पार्टीको आवश्यकता भएपनि संभावना नरहेको बताएको छ। गौतमका स्वकीय सचिव दिपक टमाटाले डिसी नेपालसँग भने, ‘कोही नेता आफ्नो पार्टी छाड्ने हिम्मत गरेका छैनन् कसरी संभब हुन्छ।’ यस बिषयमा गौतमले पहलकदमी लिन लागेको हो भन्ने जिज्ञासामा अहिले नै तयारी नभएको र भोलिको परिस्थितिले निर्धारण गर्ने उनले जनाए।

एमालेका नेता भिम रावलले राष्ट्रियता पार्टीगत सोच भन्दामाथि हुने भएकाले तत्काल नयाँ पार्टी बन्ने जानकारी आफूले नपाएको डिसी नेपाललाई बताए। उनले बिदेशीको हितमा नेपालको भूराजनैतिक जटिलताप्रति कुलकार्य गर्दै सबै दलहरु गएमा एउटा बिन्दुमा देशभक्तहरु संगठित हुने अबस्था आउने संकेत गरे।

उनले भने, ‘भोलिको राष्ट्रिय घटना, राष्ट्रिय हित र स्वाधिनताका बिषय साझा रुपमा उठाउनु पर्छ। त्यस्तो कुनै बिन्दुमा एक हुन सकिन्छ।’ उनले अहिले नै त्यो तयारीमा नलागेको र समयक्रममा संगठित हुन सकिने बताए।

उनले नेपालको पछिल्लो घटनाक्रमले देशभक्त शक्तिहरु एक हुनुपर्ने समय आएको तर अहिले नै नयाँ पार्टी खोल्ने दिशातर्फ नलागेको कोही लागेको भए आफूलाई जानकारी नभएकोे बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *