युक्रेनमा ज्यान गुमाउने रूसी सैनिकका परिवार के भन्छन् ?

डिसी नेपाल
४ चैत २०७८ १५:१५

स्टीभ रोजेन्बर्ग, मस्को (बीबीसी) । एलेक्सेन्ड्रा तथा एन्टोनिना गिर्जाघरमा एउटा शवपेटिका छ। रुसको राष्ट्रिय झण्डाले बेरएको उक्त पेटिकामाथि एउटा टोपी र एउटा तस्बिर छन्।

मिखाइल ओर्चिकोभ मोटर राइफल ब्रिगेडका सहकमान्डर थिए। युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा उनको मृत्यु भयो। सशस्त्र रुसी सैनिकहरूले उक्त निधनमा सम्मान गारद अर्पण गरेका थिए।

एक पादरी प्रार्थना गर्दै शवपेटिका घुमिरहेका थिए भने सजाउन प्रयोग गरिने फलामको एउटा भाँडामा धूप बालिएको छ। धूपको सुगन्ध प्रार्थनास्थलमा फैलिएको छ गिर्जाघरको साङ्गीतिक समूहले मधुर धुन बजाइरहेको छ। मृतक सैनिककी पत्नीले आफ्नो टाउको कालो कपडाले छोपेकी ढाकेकी छन् र उनलाई आफन्तहरूले सान्त्वना दिइरहेका छन्।

युक्रेनमा कति रुसी सुरक्षाकर्मी मारिएका छन् त? सरकारले सार्वजनिक गरेको सङ्ख्याभन्दा अरू प्रकाशन गर्नु फौजदारी कसुर हुने व्यवस्था गरिएको छ।

तथ्याङ्कमा अन्योल

रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४९८ सैनिकले क्रेम्लिनले भन्ने गरेको ‘विशेष सैन्य कारबाही’ मा ज्यान गुमाएका छन्। त्यो मार्च २ को तथ्याङ्क हो र त्यो अद्यावधिक नगरिएको दुई हप्ता भइसकेको छ।

“हाम्रो देशको अवस्था सामान्य छैन,” भेला भएका मानिसहरूलाई पादरी भन्छन्, “सबैले त्यो बुझेकै छन्।”

युक्रेनमा रहेका रुसी सैनिकहरू नायक भएको विश्वास सर्वसाधारणले गरून् भन्ने क्रेम्लिन चाहन्छ। आफ्नो कारबाही प्रतिरक्षाका लागि चालिएको कदम भएको बुझाइ मानिसहरूको होस् भन्ने उसको धारणा छ।

हालै सरकारी टेलिभिजनको एउटा साप्ताहिक समाचार कार्यक्रममा प्रस्तोताले रुसले ‘अहिले हस्तक्षेप नगरेको भए तीन वर्षको अवधिमा युक्रेन परमाणुबमसहित नेटोमा आबद्ध हुने’ दाबी गरेका थिए। “(युक्रेन) साँच्चै क्राइमियातर्फ अघि बढ्थ्यो र त्यहाँबाट दक्षिण रुसतर्फ आउँथ्यो।” युक्रेनलाई अतिक्रमणकारी देखाउनेगरी त्यस्तो भ्रम पारिएको छ।

कस्ट्रोमाका चोकहरूमा धेरै जनाले क्रेम्लिनको आधिकारिक धारणालाई विश्वास गरेको जस्तो देखिन्छ।

सार्वजनिक मत निर्माणका लागि टेलिभिजनले खेल्ने प्रमुख भूमिकाका पनि त्यसका लागि आंशिक रूपमा जिम्मेवार छ। तर सङ्कटको घडीमा धेरै रुसीहरू आफ्नो नेताको वरपर गोलबन्द हुने गर्छन् र त्यस क्रममा उनीहरूले आफ्ना राष्ट्रपतिले गलत निर्णय गरेको हुनसक्ने विश्वास गर्दैनन्।

“नेटोले ठ्याक्कै हाम्रो छेउमै (युक्रेनमा) पसल थाप्न चाहेको छ र उनीहरूसँग परमाणुअस्त्र छ,” निकोलाई भन्छन्, “पुटिनले ठिक गरेका छन्। उनले तिनीहरूलाई त्यसो गर्न दिएनन्।”

“अन्तिमसम्म रुस अघि बढिरहनुपर्छ,” कामबाट अवकाश पाएकी नीना इभानोभ्ना भन्छिन्।

“रुसी टेलिभिजनमा यसबारे प्राप्त भएका कति सूचनालाई तपाईँ विश्वास गर्नुहुन्छ?” मैले उनलाई सोधेँ।

उनको उत्तर थियो, “म विश्वास गर्छु। किन विश्वास नगर्ने? मैले विश्वास नगर्ने भनेको इन्टरनेट हो।”

इन्टरनेटलाई विश्वास नगर्नाको कारणबारे मैले सोध्दा उनले त्यसको कारण आफूलाई थाहा नभएको बताइन्।

‘युद्ध गलत’

सबैले युक्रेनमा जारी रुसी आक्रमणलाई समर्थन गर्दैनन्। निकोल्स्कोई गाउँमा म पादरी योआन बर्डिनको घरमा गएँ। उनले हालै युद्धविरोधी प्रवचन दिएका थिए र चर्चको वेबसाइटमार्फत् आफ्नो आलोचनात्मक धारणा बाहिर ल्याएका थिए।

त्यसपछि उनलाई थुनामा राखिएको थियो र रुसी सशस्त्र बललाई “बदनाम” गर्नेहरूविरुद्ध लक्षित एउटा नयाँ कानुनअन्तर्गत जरिवाना गरिएको थियो।

“मलाई लाग्छ कुनै पनि प्रकारको रक्तपात, जुनसुकै कारण वा तपाईँले जस्तोसुकै औचित्य पुष्टि गर्न खोजे पनि त्यो अझै पनि पाप हो,” पादरी योआन भन्छन्। “जसका कारण रगत चुहियो त्यसको दाग उसलाई लाग्छ। यदि कुनै आदेश दिइएको थियो भने आदेश दिनेलाई, त्यस्तो आदेश समर्थन गर्नेलाई र त्यो अवस्थामा मौन बस्ने सबै दोषी हुन्।”

उनले थपे, “सबैभन्दा खराब भनेको घृणा उत्पन्न भइसकेको छ। यो बढ्दै बढ्दै जानेछ किनभने हामीले अवस्था अन्त्य हुने देखिरहेका छैनौँ।”

“यसलाई समाप्त गर्न कुनै राजनीतिक इच्छाशक्ति देखिएको छैन। दुवै पक्षबीच घृणा बलियो भएर जानेछ र त्यो आउने दशकहरूमा हाम्रा मानिसहरूबीच पर्खाल बनेर ठडिनेछ।”

शोक

कस्ट्रोमास्थित अन्तिमसंस्कार स्थलमा आठ सैनिकले मिखाइलको शवपेटिकालाई बोकेका थिए। एउटा सैनिक ब्यान्डले शोक धुन बजाएको थियो। त्यसपछि बन्दुकको सलामी दिइएको थियो भने रुसी राष्ट्रिय गान बजाइएको थियो। अनि बाकसलाई जमिनमुनि गाडिएको थियो।

एउटा सङ्क्षिप्त मन्त्वयमा दिने कार्यक्रम पनि राखिएको थियो। “आफ्नो छोरा, भाइ वा पिता गुमाउनु सधैँ वियोगान्त हुन्छ तर हाम्रा नागरिक, हाम्रा सन्तान र हाम्रो देशको रक्षा गर्दै उनले ज्यान गुमाएकोमा हामीलाई गर्व छ।”

कस्ट्रोमामा उनीहरूले मिखाइललाई ‘पितृभूमिको रक्षक’ भनेका थिए।

रुसी सेनाले आफ्नो देशको सीमा पार गरेर सार्वभौम देशमा प्रवेश गरी राष्ट्रपति पुटिनको आदेशमा युक्रेनमाथि आक्रमण गरेको थियो।

क्रेम्लिनका नेताले यो ‘विशेष कारबाहीको उद्देश्य’ युक्रेनलाई ‘निरस्त्र बनाउनु र नाजीमुक्त गराउनु’ रहेको बताउने गरेका छन्। युक्रेनको सरकार फासीवादीहरूले सञ्चालन गरेको भन्ने उक्त दृष्टिकोण वास्तविक होइन।

हालैका दिनमा रुसी अधिकारीहरूले आफ्नो बृहत् उद्देश्य खासै लुकाएका छैनन्। रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जे भइरहेको छ त्यो “विश्व मानचित्रमा पूर्ण सम्मान समेतको आफ्नो वैध स्वार्थसहित रहिरहनका लागि रुसका लागि जीवनमरणको लडाइँ भएको” बताएका थिए।

अर्को शब्दमा, त्यो भूराजनीतिसँग जोडिएको छ र युक्रेनलाई रुसको प्रभाव क्षेत्रमै रहिरहन बाध्य पार्ने मस्कोको दृढतासँग जोडिएको छ।

तर युक्रेनमा रहेको सरकार त्यही कुरालाई रोक्न दृढसङ्कल्प देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *