एमाले रणनीति : स्थानीय तहमा तालमेल गर्ने जिम्मा स्थानीय तहलाई नै

डिसी नेपाल
१० चैत २०७८ ११:०५
72
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै प्रमुख राजनीतिक दल पूर्वमानुमान गर्न थालेका छन्। त्यसका लागि सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको बिहीबारदेखि केन्द्रीय कमिटी जारी छ।

एमालेको जारी बैठकमा सातैवटा प्रदेश अध्यक्षले रिर्पोटिङ गरेका छन्। उनीहरुले मधेस प्रदेश बाहेक अन्य ६ वटै प्रदेशमा एमाले पहिलो दल बन्ने दाबी प्रस्तुत गरेका छन्।

गत स्थानीय तह निर्वाचनमा एमालेले २९३ स्थानीय तह जितेको थियो। अहिले एमाले विभाजित छ तर उसले आगामी स्थानीय तह निर्वाचनमा ३४४ स्थानीय तह जित्ने दाबी गरेको छ।

अहिले एमाले विभाजित बनेको अवस्थामा पनि पहिलो पार्टी हुने आधार बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्दै कार्यकर्ताको मनोबल उच्च राख्ने प्रयास गरेका छन्। तर ओलीले गठबन्धन गर्न ढोका खुल्लै राखेका छन्।

‘केन्द्रबाट गठबन्धन गर्ने भन्ने होइन, स्थानीय तहको आवश्यकता हेरेर त्यसको अधिकार स्थानीय तहलाई नै दिने भन्ने हो,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘त्यस्तो गठबन्धन आवश्यकता अनुसार जुनसुकै दलसँग पनि हुन्छ।’

एमालेले बाम गठबन्धन नगर्ने अध्यक्ष ओलीले घोषणा गरेका छन्। कांग्रेसभित्र गठबन्धन गर्न नहुने आवाज बलियो हुँदै गर्दा फेरि बामगठबन्धन हुने माओवादीका नेतहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेपछि ओलीले माओवादी र एकीकृत समाजवादीसँग कुनै प्रकारको गठबन्धन नहुने स्पष्ट परेका हुन्।

माओवादी र एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने नीति लिएको एमालेले चुनावी तालमेलका विषयमा भने खुला रहने नीति लिएको छ। यदि वर्तमान सत्ता गठबन्धनबीच चुनावी तालमेल भयो भने एमालेले पनि चुनावी तालमेल गर्न सकिने बाटो खुला राखेको छ।

गत स्थानीय तह चुनावमा काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो। मेयरमा एमाले उम्मेद्वार विजयी हुँदा उपमेयरमा राप्रपामा उम्मेद्वार भने पराजित बनेका थिए। अहिले पनि स्थानीय तह निर्वाचनमा एमाले र राप्रपाबीच चुनावी तालमेलको चर्चा चलेको छ।

‘एमाले विरुद्ध पाँच दलको गठबन्धन भयो भने एमालेले राप्रपा र लोसपासँग तालमेल गर्न सक्छ,’ एमालेका एक नेताले भने, ‘मधेस प्रदेशमा तुलनात्मक रुपमा हाम्रो संगठन कमजोर छ, गत स्थानीय तह निर्वाचनमा पनि मधेसमा हामी पाँचौं शक्ति बनेका थियौं, अहिले मधेसमा एमालेप्रतिको क्रेज बढेको छ। त्यहाँ हाम्रो बलियो उपस्थितिका लागि लोसपासँग सहकार्य हुन सक्छ।’

लोसपाले पनि चुनावी तालमेल गर्दा आफरुहरुको पहिलो रोजाइमा एमाले पर्ने जनाएको छ। ओली नेतृत्वको सरकारले मधेसका मागलाई धेरै हदसम्म पूरा गरेको र मधेसप्रति लचक रहेको निष्कर्ष निकालेको लोसपा र एमालेबीच मधेस प्रदेशमा चुनावी तालमेल हुने नेताहरुले संकेत गरेका छन्।

उता राप्रपाबाट अगल भएर राप्रपा नेपाल गठन गरेका कमल थापाले पनि एमालेसँग चुनावी तालमेल हुन सक्ने अभिव्यक्ति दिइरहेका छन्। यसरी पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने अवस्थामा एमाले, राप्रपा र लोसपाबीच पनि चुनावी तालमेल हुन सक्ने नेताहरुले बताउन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.