सामान्य झगडाको निहुँमा मिल्ने साथीले कुटपीट गरेर गरिन् कविताको हत्या

डिसी नेपाल
२२ चैत २०७८ २०:२८

काठमाडौं । आफ्नै सहपाठीले कुटपीट गरेर हत्या गर्छन् भन्ने जो कोहीले सोच्न पनि सक्दैनन् । स्कूल जानका लागि साथीले टेलिफोन गरेर बोलाएपछि मंगलबार बिहानै झिसमिसेमा घरबाट निस्केकी कविता सुनुवारले आफ्नै साथीको हातबाट मृत्युवरण गर्नुपर्यो ।

उदयपुरको बेलका नगरपालिका ६ किरातचोक घर भएकी १६ वर्षीया कविता सुनुवार आफ्नो माध्यमिक परीक्षा (एसईई)को तयारीको लागि नियमित अध्ययनकै क्रममा घरबाट ट्यूसन पढ्न निस्केकी थिइन् । उनी बेलका नगरपालिका स्थित कोशी जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययन गर्दै गर्दा साथीसँग झगडा पनि परेको थियो।

तर उनले त्यसलाई सामान्य रुपमा लिएकी थिइन् । एसईई परीक्षा नजिकिदै गर्दा विद्यालयले कोचिङको व्यवस्था समेत गरेको थियो । त्यही कोचिङमा जाने क्रममा बिहानै साथीले फोन गरेर बोलाएकी थिइन् । तर उनीमाथि बीच बाटोमै आक्रमण भयो ।
कविता सुनुवारको डंगटोलस्थित यसोदा खोलाको किनारमा शव भेटिएको थियो ।

बाटो हिड्नेले शव देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्यो र घटना संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेर ल्याउदा उनकै साथी र साथीका दाई नाता पर्ने विनोद ढकाल थिए । कविताका घर परिवारले उनीहरुले छोरीमाथि यसरी आक्रमण गर्लान भन्ने सोचेकै थिएनन् ।

१७ वर्षीया साथी र १९ वर्षीय विनोद ढकाललाई पक्राउ परेपछि उनीहरुमाथि अनुसन्धान शुरु गरेको थियो । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा पढ्थिन् ।

साथीसँग झगडाको निहुँ
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सुवासचन्द्र बोहोराका अनुसार कविताको हत्यामा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकाल पक्राउ परे । भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएका थिए ।

कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै गएका थिए । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको थियो । घटनाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विज्ञप्ति निकालेर कडा कानुनी कारबाहीका लागि माग गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झगडा भएको थियो ।

सो झगडापछि कवितालाई तर्साउन भन्दै साथीले दाई नाता पर्ने ढकाललाई पनि लिएर गइकी थिइन् । त्यही क्रममा बाटोमा झगडा परेको र दुई जना मिलेर हत्या गरेको प्रहरीको दाबी छ । ‘मंगलबार बिहान विद्यालयमा जाने क्रममा उनीहरुबीच भेट भएर झगडा सुरु भएको र खोला किनारमा पुगेपछि आक्रमण गरी हत्या गरेको उनीहरुको प्रारम्भिक बयान छ’, डिएसपी बोहोराले भने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *